चितवन : चितवन जिल्ला अदालतले अनिल परियारको हत्या गरेको अभियोगमा चार जनालाई जन्मकैदको फैसला गरेको छ।‘कान’ भनेर चिनिने भरतपुर–१२ का परियारको ०७९ वैशाख २५ गते साँझ ७ बजे भरतपुर–७ स्थित कृष्णपुर खेलकुद मैदान नजिक हत्या भएको थियो। न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले चार जनालाई जन्मकैद (२५ वर्ष) र एक जनालाई ४ वर्ष कैदको सजाय फैसला गरेको हो।
यस घटनामा ६ जनाविरूद्ध मनसाय पूर्वक हत्या गरेको भनी जाहेरी परेको थियो। जन्मकैद सजाय पाउनेमा विश्व भन्ने हेमन्त बास्तोला, अजय भन्ने अशोक भण्डारी, राहुल भनिने सुनिल राउत (मृतकका भाइ) र तिलक गैरे रहेका छन्।जन्मकैदका साथै उनीहरूबाट मृतकको परिवारलाई जनही १ लाख रुपैयाँका दरले क्षतिपूर्ति भराउने समेत फैसला भएको चितवन जिल्ला अदालतका स्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए।
यस घटनाका मतियार भनिएका विक्रम भन्ने रोहित सिलवाललाई ४ वर्ष कैद तोकिएको हो। उनीबाट ४० हजार रुपैयाँ पीडित पक्षलाई क्षतिपूर्ति भराउने फैसला भएको छ।अर्का आरोपी सुशान्त उप्रेतीले भने अभियोगबाट सफाइ पाएका छन्। ५२ औं पटकसम्म पेशी चढेको यस मुद्दा करिब ३ वर्षमा टुंगो लागेको हो।
चितवन प्रहरीले यस घटनामा ६ जनालाई आरोपित बनाइ कर्तव्य ज्यान मुद्दा चलाएको थियो। घटना भएको एक महिनापछि ०७९ जेठ २४ गते बास्तोला, सिलवाल र राउत पक्राउ परेका थिए। भण्डारी र उप्रेती एक वर्ष पछि मात्र पक्राउ परेका थिए।हत्या सम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) चितवन आएको थियो।
हत्या भएको दिन रिजालचोकमा साथीहरूसँग बसिरहेका अनिललाई मोटरसाइकलमा राखेर कृष्णपुर लगिएको थियो। उनलाई एकातर्फ बोधो र एकातर्फ तिखो धार रहेको चक्कुले छातीदेखि पेटभागसम्म ३० पटक प्रहार गरिएको पोष्टमर्टम रिपोर्टबाट खुलेको थियो।घटनास्थलमा २ वटा गोलीका खोका समेत भेटिएको प्रहरीले बताएको थियो। तर पोष्टमर्टमका क्रममा अनिलको हत्यामा गोली प्रयोग नभएको पाइएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij