Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अहिले यी ३ प्रहरीको छ जताततै चर्चा

अहिले यी ३ प्रहरीको छ जताततै चर्चा

काठमाडौं : पछिल्लो २४ घण्टायता सामाजिक सञ्जालमा तीनजना प्रहरीले गरेको कामको चौतर्फी प्रशंसा भएपछि उनीहरुको नाम चर्चामा छ ।

यसरी चर्चामा आउनेमध्ये २ जना नेपाल प्रहरीका छन् भने एकजना सशस्त्र प्रहरी बलका हुन् । नेपाल प्रहरीका चन्द्रिका देउवा, कुन्जाङ छोपेल शेर्पा र सशस्त्रका दन्त बहादुर छत्यालको नाम चर्चामा आएको हो ।

चर्चामा मात्र आएनन्, उनीहरु तीनैजनाको कामको कदर गर्दै संगठनले सम्मानसहित पुरस्कृत समेत गरेको छ । तर, उनीहरु कसरी चर्चामा आए ? के कारणले चर्चामा आए ?

त्यसैले सर्वप्रथम प्रहरी जवान देउवाबारे चर्चा गरौं ।

प्रहरी जवान चन्द्रिकाले आमा र बच्चाको ज्यान जोगाई प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले पुरस्कृत गरेको जानकारी नेपाल प्रहरीको फेसबुकबाट सार्वजनिक गरिएको सम्मानपत्र ।

गत मंगलबार कैलालीमा एकजना गर्भवती महिलालाई सडकमा नै सुरक्षित प्रसूति गराएर आमाछोरीको ज्यान जोगाएपछि प्रहरी जवान देउवा चर्चामा आएकी हुन् । जुन कामको भिडिओहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

गोदावरी नगरपालिका–१, बसन्तपुरमा सडकमा छटपटाइरहेकी बझाङ थलारा गाउँपालिका–३ की चन्द्रा आचार्यको उद्धार गर्दै प्रहरी जवान देउवाले पद्मा अस्पतालसम्म पुर्‍याई सुरक्षित रूपमा शिशुको जन्म गराएकी थिइन् ।

पछिल्लो समय प्रहरीप्रति नागरिकहरुमा वितृष्णा बढेका बेला जवान देउवाको उक्त कार्यले प्रहरीको साख उठाएको छ । उनको मानवीय र साहसी कार्यप्रति संगठनले उनलाई सम्मान गरेको हो ।

चन्द्रिकाले आमा र बच्चाको ज्यान जोगाई प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले पुरस्कृत गरेका हुन् ।

त्यतिमात्र नभएर जवान देउवालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीले समेत अभिलेखमा जनिने गरी सम्मान गरेको छ । यस्ता साहसिक कार्य गर्ने प्रहरी जवानको बढुवा समेत गर्नुपर्ने भन्दै आवाज पनि उठेको छ ।

त्यसैगरी चर्चामा रहेकी अर्की पात्र हुन् शेर्पा

सगरमाथाको सफल आरोहणपछि फर्किएकी शेर्पालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्दै नेपाल प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापासहितका प्रहरी अधिकारीहरु ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएपछि शेर्पालाई विशेष रूपमा बढुवा गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) रहेकी शेर्पालाई बुधबार बसेको नेपाल प्रहरीको बढुवा समितिको बैठकले प्रहरी नायव निरीक्षक (सई) मा विशेष बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक थापाको अध्यक्षतामा बसेको उक्त बैठकले शेर्पाको अद्वितीय योगदानलाई सम्मान गर्दै संगठनको नाम र गौरव उजागर गरेको ठहर गर्दै विशेष बढुवाको सिफारिस स्वीकृत गरेको बताइएको छ ।

त्यतिमात्र नभएर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी पहिलो महिला प्रहरी असई शेर्पालाई बिहीबार भब्य स्वागत समेत गरिएको छ । प्रहरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका हुन् । शेर्पाले २०८२ जेठ ५ गते विश्व को सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी थिइन् ।

यस्तै चर्चामा रहेको अर्का पात्र हुन् छन्त्याल

सईमा बढुवा भएका छन्त्याललाई दर्ज्यानी चिन्ह प्रदान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल ।

यस्तै सशस्त्रका असई दन्त बहादुर छत्याललाई समेत बढुवा गरिएको छ । सगरमाथाकै सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्रको सई पदमा पदोन्नति गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका सत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका छन् ।

यही जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका थिए । सगरमाथा संवादको सन्देशसहित छत्याल सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij