Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गृह मन्त्रालयको स्पष्टीकरणः त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

गृह मन्त्रालयको स्पष्टीकरणः त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण दिएको छ। मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै खण्डन गरेको हो।

‘मन्त्रालयको नेतृत्व कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्न छैन र भविष्यमा पनि संलग्न हुने छैन,’विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालयले सत्यतथ्य जानकारीका आधारमा मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न मिडिया हाउस र आम सर्वसाधारणलाई आग्रह गरेको छ।

विज्ञप्तिमा मन्त्रालयले शान्ति, सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जानकारी दिएको छ। साथै, सबै प्रकारका अनियमितता तथा अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नीतिगत तथा संस्थागत सुधारको प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसम्बन्धी मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा छानबिन भइरहेको भन्दै अनुसन्धान पूरा भएपछि सत्यतथ्य बाहिर आउने मन्त्रालयले जनाएको छ। मन्त्रालयले छानबिन प्रक्रियामा आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij