काठमाडौँ : छिमेकी मित्रराष्ट्र चीनको सान्सी प्रान्तमा आयोजना भएको गरिबी नियन्त्रण र दिगो विकास विषयक कार्यक्रममा सहभागिता जनाउन नेपालका सांसदहरूको एक प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा राष्ट्रिय सभाका दुई र प्रतिनिधि सभाका दुईसमेत गरी ५ जना सांसदसहितको ८ सदस्यीय प्रतिनिधिमण्डल सोमबार त्रिभुवन विमानस्थलबाट साताव्यापी चीन भ्रमणका लागि प्रस्थान गरेको हो ।
चीनको सरकारद्वारा आयोजना गरिएको गरिबी निवारण तथा दिगो विकास र नवौँ सिल्क रोड इन्टरनेशनल एक्स्पोजिसन कार्यक्रममा सहभागी हुन घिमिरेको नेतृत्वमा प्रतिनिधि सभाका सदस्य उर्मिला माझी र दिनेश कुमार यादव तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसाल र सुमित्रा विसी त्यसतर्फ प्रस्थान गरेका हुन्। उनीहरूलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संसद् सचिवालयबाट विदाई गरिएको थियो । भ्रमण दलमा संसद् सचिवालयका उपसचिव पुष्प प्रकाश खनाल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका निजी सचिव प्रेम बहादुर सिंह रहेका छन् ।
सो प्रतिनिधिमण्डलले दुई वटा कार्यक्रममा सहभागिता जनाउनुका साथै चिनिया उच्च अधिकारीसँग भेटघाट त्यस क्षेत्रका ऐतिहासिक र पर्यटकीय स्थलहरू तथा प्राविधिक कलेज र केही उद्योग तथा सिल्क रोड र हाईलस्पिड रेलवे स्टेसनको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।प्रतिनिधिमण्डल जेठ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij