काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू राजनीतिमा आउने कुनै योजना नरहेको बताएकी छन् ।आफूले लेखेको पुस्तक ‘करुणा’ बारे सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा लेखिका शाक्यले आफूलाई लागेका कुरा किताबमा व्यक्त गरेको प्रस्ट पार्दै राजनीतिमा आउने कुनै लक्ष्य र योजना नभएको बताइन् ।
‘अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु,’ शाक्यले भनिन्, ‘तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि होइन, मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन ।’शाक्यले आफू एउटा सामान्य नेपाली रहेको प्रस्ट पारिन् । उनले भनिन्, ‘म इमानदार नेपालीको छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ । यो ठिक, यो बेठिक भन्ने कुरा लागेको छ । ती लागेका कुरा मैले किताबमार्फत व्यक्त गरेको हो ।’लागेको कुरा व्यक्त गर्ने अधिकार सबैलाई रहेको उनले बताइन् । ‘त्यसो भएकाले म राजनीतिमा आउँला कि, यसो–उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु,’ उनले भनिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij