Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुर–३ का टोलहरुमा वातावरणमैत्री झोलाको प्रयोग

भरतपुर–३ का टोलहरुमा वातावरणमैत्री झोलाको प्रयोग

भरतपुर : भरतपुर महानगरपालिका वडा नं–३ मा रहेको बाह्रघरे टोल विकास संस्थाका बासिन्दाले वातावरणमैत्री झोलाको प्रयोग गर्न थालेका छन् । वडावासीहरुले प्लास्टिकको झोला छोडेर कपडाबाट बनाइएको वातावरणमैत्री झोलाको प्रयोग गर्न थालेका टोल विकास संस्थाकी अध्यक्ष दुर्गा पाण्डे खरालले बताइन् ।

बाह्रघरे टोल विकास संस्थाले प्लास्टिकको झोला प्रयोगलाई निरूत्साहित गर्न घर–घरमा वातावरणमैत्री झोला वितरण गरेको छ । अध्यक्ष खरालका अनुसार टोलले आफ्नै लगानीमा वातावरणमैत्री झोला तयार पारेको हो । झोलाको अगाडिको भागमा वातावरणमैत्री झोला भनेर लेखिएको छ । टोलको नाम पनि राखिएको छ ।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, व्यापारिक प्रतिष्ठानमा प्लास्टिकको झोलाको सट्टा वातावरणमैत्री झोलाको प्रयोग गर्न अनुरोध गरेको अध्यक्ष खरालको भनाइ छ । टोल विकास संस्थाका उपाध्यक्ष सुरेन्द्र धितालले प्लास्टिकको झोलाले वातावरण प्रदूषण हुने र कुहिन पनि वर्षौं लाग्ने भएकाले टोलवासीलाई वातावरणमैत्री झोला प्रयोग गर्न आग्रह गरे ।

टोल विकास संस्थाकी अध्यक्ष खरालले बाह्रघरे टोललाई वडाकै पहिलो वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त टोल घोषणा गर्ने प्रतिबद्धता जनाएकी छन् । त्योअनुसार टोलले काम पनि गरिरहेको छ ।

भरतपुर महानगरपालिका वडा नं–३ का अध्यक्ष विकास थापाले वडालाई नै वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने लक्ष्यका साथ टोल विकास संस्थाले काम गरिरहेको बताए । उनका अनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको प्रयोगले वातावरणमा अन्त्यन्त प्रतिकूल प्रभाव पारेको, यस्तो झोलाको प्रयोगपछि जथाभावी फाल्ने गर्दा खोला तथा नदीहरु प्रदूषित भएको र ढल तथा पानीको निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा उत्पन्न भएको हुनाले वातावरणमैत्री झोला प्रयोगलाई अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij