Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘राम नाम सत्य’मा दिव्या अनुवन्धित, सुशीलसँग जोडी बाँध्ने

‘राम नाम सत्य’मा दिव्या अनुवन्धित, सुशीलसँग जोडी बाँध्ने

नायिका दिव्या रायमाझीले नेपाली फिल्म क्षेत्रका दुई एक्सन नायकहरूसँग पर्दा शेयर गर्ने भएकी छिन् । दिव्याले फिल्म ‘राम नाम सत्य’ साइन गरेसँगै यो संभव भएको हो । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा दिव्या फाइनल भएकी छिन् । दिव्या र फिल्मको टिमबीच आइतबार कागजी संझौता भइसकेको छ ।

फिल्म साइन गरेपछि दिव्याले भनिन्–‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो । जसकाकारण, फिल्ममा काम गर्न तयार भएकी हुँ ।’ यो फिल्ममा यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाई छ ।

फिल्मको छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ फिल्मका निर्माता हुन् । फिल्ममा डाक्टर डीआर  उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने फिल्ममा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ ।

अब, केही कलाकारहरू फाइनल गरेर वर्कसप सुरु गर्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ ।

फिल्म ‘एक्टरः टेक वान’बाट रजतपटमा डेब्यू गरेकी दिव्याको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो । दिव्या पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी नायिका समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij