रुपन्देही : गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक सबइन्जिनियरको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–६,सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डिएसपी) गङ्गा बहादुर सारुले जानकारी दिएका छन् । घटना गएराती भएको हो ।
चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो । उनी मोटरसाइकलमा एक्लै सवार गरेका थिए । अनियन्त्रित भएर मोटरसाइकल नालीमा खसेपछि चालक चौधरीलाई साधनले च्यापेको थियो ।
सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको मोटरसाइकल राति करिब १०:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक चौधरी हाल गुल्मीमा इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब(इञ्जिनियरको रूपमा कार्यरत थिए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा ९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। मृतकका परिवारलाई जानकारी गराइएको र शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij