Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दैलेख पुगेर प्रचण्डले भने- हाम्रो ध्यान सरकार ढलाउनेतिर छैन

दैलेख पुगेर प्रचण्डले भने- हाम्रो ध्यान सरकार ढलाउनेतिर छैन

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उनले बताए ।

जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गरे । यसबारे निरन्तर खबरदारी गरिरहेको उनको भनाइ थियो ।

‘बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकार समक्ष राख्न चाहन्छौँ’, अध्यक्ष दाहालले भने, ‘तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आएको छु ।’ तराइ मधेस जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले मध्यपहाडी लोक मार्ग यात्रा पनि सफल हुने बताए ।

मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताए ।

मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको बताए । राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ की भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताए । माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पुर्‍याएको उनले बताए ।

अध्यक्ष दाहालले भने, ‘जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका र जनताका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पुर्‍याउने लक्ष्य लिएको उनको भनाइ थियो । मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा परिवर्तन ल्याउने अध्यक्ष दाहालले बताए ।

दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उनले बसाइसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए। पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालले बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरूको उपस्थिति रहेको थियो । यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान सुरु भएको हो । –रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij