Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले

देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले

नवलपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक रहेको टिप्पणी गरेका छन् । रास्वपा देवचुली १५ को वडा अधिवेशनमा आज आयोजित कार्यक्रममा बोल्दै डा.वाग्लेले समृद्ध नेपाल निर्माणका लागि पर्याप्त नीति र स्रोत साधन भए पनि त्यसको कार्यान्वयनमा बिचौलियाहरूको कब्जा र राजनीतिक इच्छाशक्तिको अभावले देश पछाडि परेको बताए।

‘हामीसँग नीति छ, स्रोत साधन छन्, तर तिनको कार्यान्वयनमा बिचौलियाको कब्जा छ,’ उनले भने, ‘राजनीतिमा इच्छाशक्तिको अभाव र प्रणालीगत कमजोरीले भ्रष्टाचार मौलाएको छ।’ समाजशास्त्र, सार्वजनिक प्रशासन र अन्तर्राष्ट्रिय विकास नीतिको सन्दर्भमा उनले सुशासन र पारदर्शितामा जोड दिनुपर्ने बताए । अब आर्थिक क्रान्तिको आवश्यकता रहेको उल्लेख गर्दै डा.वाग्लेले कुशासनकै कारण मुलुक बिग्रिएको आरोप लगाए।

‘राम्रा शासकको अभावमा देशको हितमा काम हुन सकेको छैन,’ उनले भने । वर्तमान सरकारले आफ्ना कमजोरी लुकाउन संवैधानिक निकायहरूमा आफ्ना मान्छे नियुक्त गरेर कब्जा गर्ने प्रयास गरेको समेत उनले आरोप लगाएशिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीजस्ता क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको भन्दै उनले सरकारी सेवा प्रणालीलाई जनमुखी बनाउन जोड दिए। ‘लुकाइने विषयमा पनि रास्वपा खुलेर बोल्न तयार छ,’ भन्दै संसदमा उठाइएका मुद्दा जनताले महसुस गर्न थालेको दाबी गरे।

राजनीतिक असफलताको मूल्य नागरिकले चुकाइरहेको उल्लेख गर्दै उनले जिम्मेवार नेतृत्व र योजनाको कार्यान्वयनमा प्रतिबद्धता आवश्यक रहेको समेत बताए। ‘हामी अघिल्लो पुस्ताको जस्तो राजनीति होइन, नयाँ पुस्ताको भरोसायोग्य नेतृत्व दिन चाहन्छौँ,’ डा.वाग्लेले स्पष्ट पारे।रास्वपा सभापति रवि लामिछानेलाई फसाएर पार्टीलाई सिध्याउने प्रयास सफल नहुने उल्लेख गर्दै उनले लामिछाने छिट्टै मुक्त हुने विश्वास पनि व्यक्त गरे। कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट