काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनुलाई सफलताको सूचकका रूपमा लिन सकिने भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताउनुभयो ।
उहाँले पहिला–पहिला पाचनप्रणाली राम्रो होस् भनेर आशीर्वाद दिइने गरेको प्रसङ्ग उल्लेख गर्दै आहारविहार र हेरचाहलाई विशेष ध्यान दिइ जीवन पद्धतिलाई सही ढङ्गबाट अघि बढाउने हो भने स्वस्थ्य रहन सकिने धारणा व्यक्त गर्नुभयो ।प्रधानमन्त्री ओलीले पञ्चायतकालमा गोलघरमा चिसो भूइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कुुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारका रोग लुकाउनुहुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij