Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुर अस्पतालमा क्याथ ल्याबसहितका नयाँ सेवाहरु सुरु, स्वास्थ्य मन्त्री प्रदीप पौडेलबाट शुभारम्भ !

भरतपुर अस्पतालमा क्याथ ल्याबसहितका नयाँ सेवाहरु सुरु, स्वास्थ्य मन्त्री प्रदीप पौडेलबाट शुभारम्भ !

चितवन : भरतपुर अस्पतालमा आज (सोमबार) देखि क्याथ ल्याबसहितका नयाँ सेवाहरु सुरु भएको छ । क्याथ ल्याब, जलन वार्ड, सिमुलेसन ल्याब, फर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट, क्याडाभर ल्याब, पीएसीएस, चाइल्ड प्ले थेरापी र योग तथा ध्यान कक्षको शुभारम्भ हुन लागेको हो । सञ्चालनमा आउन लागेका सबै नयाँ सेवाहरुको तयारी पुरा भएको अस्पतालले बताएको छ।

क्याथ ल्याबसहित नौ वटा नयाँ सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट शुभारम्भ गरेका थिए । हृदयघात, मुटुको रगतका नसासम्बन्धी समस्या, मुटुको भल्भसम्बन्धी समस्या, जन्मजात मुटुरोगलगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिन्छ । मुटुमा रक्तनलीहरु थुनिँदा मानिसमा हृदयघात हुनेगर्छ ।

मुटुको शल्यक्रिया ओपनहार्ट सर्जरी र क्लोजहार्ट सर्जरी गरी दुई तरिकाले गर्न सकिन्छ । सरकारी अस्पतालमा क्याथ ल्याब नहुँदा बिरामीलाई मेडिकल कलेज पठाउनुपर्ने बाध्यता थियो । संघीय सरकार र अस्पताल विकास समितिको गरी कुल १३ करोड ७० लाख रूपैयाँमा क्याथल्याब सुरू गरिएको पौडेलले जानकारी दिए । त्यसमध्ये संघीय सरकारको सात करोड र समितिको छ करोड ७० लाख रुपैयाँ लगानी रहेको उनी बताउँछन् ।

‘पीएसीएसमा एमआरआई, सिटी स्क्यान र एक्सरे रिपोर्टहरु डिजिटल माध्यमबाट विरामी भर्ना भएर बसेका सम्बन्धित वार्डहरुबाटै हेर्न मिल्छ । रिपोर्टहरु हातमा लिएर हिँड्नु पर्दैन’, उनले भने, ‘यसको पनि मन्त्रीज्युले कम्प्युटरबाट अपरेटिङ गरेर शुभारम्भ गर्ने कार्यक्रम छ ।’

आइसियूसहितको सात बेडको जलन वार्डको पनि आज शुभारम्भ हुने छ । अस्पतालमा हाल तीन बेडको मात्रै जलन वार्ड सञ्चालनमा छ । त्यस्तै, निःसन्तानपनको उपचारका लागि फर्टिलिटी क्लिनिक सञ्चालन गरिएको उनले बताए । यहाँ कृत्रिम गर्भाधानबाट निःसन्तापनको उपचार गरिनेछ । क्लिनिकबाट टेस्टट्युबबाहेकका सेवा पाउन सकिनेछ ।

सिमुलेसन ल्याबमा नयाँ चिकित्सकहरुलाई मानिसको डमीमा अपरेसन गर्न सिकाइन्छ । मानिसको आकार दिएर बनाइएको डमीमा अपरेसन गर्न सिकाउने ठाउँलाई सिमुलेसन ल्याब भनिन्छ । बिरामीको अपरेसन थाल्नुअघि यो ल्याबमा चिकित्सकलाई अभ्यास गराइने उनले बताए ।

स्तनपानलाई प्रवद्र्धन गर्न ल्याक्टेसन म्यानेजमेन्ट युनिट स्थापना गरिएको छ । स्तनपान गराउने महिलाको दूध यहाँ भण्डारण गर्न सकिने पौडेल बताउँछन् । शल्यचिकित्सा प्रशिक्षणको लागि क्याडाभर ल्याब स्थापना गरिएको छ । यस ल्याबमा चिकित्सा क्षेत्रका विद्यार्थी, सर्जनलगायतले मानवको मृत शरीरमा अनुसन्धान गर्न र शल्यक्रिया सीपको विकास गर्न सक्नेछन् । क्याडाभर ल्याबले मन्त्री पौडेलले अवलोकन गर्ने कार्यक्रम छ ।

क्याथ ल्याबबाहेक अन्य नयाँ सेवाहरुका लागि भएकै कर्मचारीहरुलाई परिचालन गरिने मेसु पौडेलले बताए । क्याथ ल्याबको लागि चार जना चिकित्सकसहित २२ जना स्वास्थ्यकर्मी तयार गरिएको छ । क्याथ ल्याब बाहेक अन्य नयाँ सेवाहरुको लागि संरचना, मेशिनरी औजार, फर्निचर लगायतमा दुई करोड २४ लाख रुपैयाँ खर्च लागेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij