Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मेयरले कुटे अधिकृत : कर्मचारी आन्दोलित, सेवा ठप्प

मेयरले कुटे अधिकृत : कर्मचारी आन्दोलित, सेवा ठप्प

काठमाडौं : बाराको सिम्रौनगढ नगरपालिकामा मेयर किशोरीप्रसाद कलवारद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरिएको घटनाले स्थानीय तहमा बढ्दो बेथिती र दण्डहीनतालाई उजागर गरेको छ । मेयरको मौखिक आदेशमा कानूनविपरीत लाखौं रुपैयाँ भुक्तानी गर्न अस्वीकार गरेपछि प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालमाथि हातपात गरिएको हो ।

गत वैशाख १६ गते सिम्रौनगढ नगरप्रमुख कलवारले कोतवाली चोकस्थित जानकी आयल नजिकै रहेको आफ्नै निजी निवासमा बोलाई प्रशासकीय अधिकृत जयसवालमाथि दुर्व्यवहार गर्दै अन्धाधुन्ध कुटपिट गरेको आरोप छ । नगरपालिकाको कार्यपालिका बोर्डले गढीमाई मेलाको लागि १० लाख रुपैयाँ मात्र छुट्याएको भए पनि मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न दबाब दिँदै आएका थिए । सोही अनुरूप बिना कानुनी प्रक्रिया रकम भुक्तानी गर्न नमानेपछि कुटपिटको घटना भएको अधिकृत जयसवालले बताएका छन् ।

प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन् । सो घटनापछि सिम्रौनगढ नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले दोषीलाई कारबाहीको माग गर्दै सम्पूर्ण नगरपालिका सेवा ठप्प पारेका छन्। नगरपालिकामा सेवा लिन आएका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भएका छन् ।

नगर उपप्रमुख नजमु सेहरका अनुसार, मेयर कलवारले नगरपालिका कर्मचारीहरूमाथि निजी नोकरजस्तै व्यवहार गर्दै मनपरी निर्णयहरू लाद्ने गरेका छन् । उनले भनेकी छिन्, ‘कार्यपालिकाबाट पारित नभएका शीर्षकहरूमा समेत लाखौंको भुक्तानी गर्न दबाब दिने, कानुनअनुसार काम गर्दा कर्मचारीमाथि हातपात गर्ने जस्ता कार्य मेयरको चरित्र बनिसकेको छ ।’

उनका अनुसार यसअघि पनि योजना प्रमुख नन्दकिशोर साहलाई मेयरका छोरा र समर्थकहरूले कार्यादेश नदिएको झोकमा कुटपिट गर्नुका साथै कार्यालयको कम्प्युटरसमेत तोडफोड गरेका थिए । हालको घटनापछि प्रशासकीय अधिकृत जयसवाल पदबाट हट्ने तयारीमा रहेको र मेयर नयाँ अधिकृत ल्याएर करोडौं रकम हिनामिना गर्न खोजिरहेको आरोप उपमेयर सेहरले लगाएकी छन् ।

नगरपालिका कार्यपालिका बोर्डमा रहेका २१ सदस्यमध्ये २० जना मेयरको कार्यशैलीविरुद्ध रहेको जनाइएको छ। उपमेयर सेहरले असार मसान्तसम्म जयसवाललाई कायम राख्ने सहमति भए पनि, भुक्तानीमा अनियमितता नगरेको कारण उनलाई हटाउन खोजिएको बताइन् । ‘नगरको सम्पत्ति व्यक्तिगत सम्पति हो भन्ने सोच राखेर मेयरले मनपरी गर्दैछन्,’ उपमेयरको आरोप छ ।

मेयर कलवारसँग सम्पर्क गर्न खोज्दा उनी फोनमा उपलब्ध भएनन् । नगर कर्मचारीहरूले दोषीमाथि कडा कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । स्थानीयबासीले पनि कानुनी शासन स्थापना गर्न र नगर प्रमुखका मनपरी कार्यशैलीविरुद्ध छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट