Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

शस्त्र प्रहरी बल विपद् उद्दारमा अब्बल बन्दै गएको छ : गृहमन्त्री लेखक

शस्त्र प्रहरी बल विपद् उद्दारमा अब्बल बन्दै गएको छ : गृहमन्त्री लेखक

मनाङ :  वैशाख १९ गते ।  गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपद्मा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताउनुभएको छ । आज यहाँ आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा उहाँले विपदमा उद्दार गर्ने कार्यले देश तथा विदेशका मानिसको विश्वास र भरोसा बढाउँदै गएको बताउनुभएको हो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “सीमा सुरक्षा, विपदबाट मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीले खेल्ने भूमिका र योगदान सराहनीय छ । यही योगदानले सशस्त्र प्रहरी भरोसायोग्य बनेको छ । यसलाई थप उत्कृष्ट बनाउन लागि परेका छौँ ।” उहाँले मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्दारमा सशस्त्रले सहयोग पु-याउने गरी प्रशिक्षित गरिएकाले आगामी दिनमा स्थानीयका साथै पर्यटकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकको यात्रा सुरक्षित बनाउन मद्दत पुग्ने भन्दै गृहमन्त्री लेखकले पर्यटन देशको अर्थतन्त्रलाई वृद्धि गर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । “यहाँ हुने पर्यटकीय गतिविधिले नै जिल्ला र देशको अर्थतन्त्रलाई टेवा पुग्छ । त्यसैले जोखिम मानिएको यस पदमार्गमा यात्रा गर्दा सुरक्षित छौँ भन्ने आभास दिन सक्नुपर्छ”, उहाँले भन्नुभयो, “अब यहाँबाट दीक्षित सशस्त्र प्रहरीले जोखिमयुक्त हिमालमा यात्रा गर्ने पर्यटकलाई सुरक्षित बनाउन थप महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ । विश्वको आकर्षणको केन्द्र मनाङको पर्यटन प्रवर्धनका लागि यात्रा सुरक्षित बनाउँदै पर्यटक आगमनलाई वृद्धि गर्न लाग्नुपर्छ ।”

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च पहाडी र हिमाली क्षेत्रमा हुने गरेका विपद् तथा जोखिममा यस तालिमले जिम्मेवारी थप भएको बताउनुभयो । उहाँले जल उद्धारलाई जस्तै पर्वतीय उद्दारलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । अर्यालले भन्नुभयो, “सुरक्षाको प्रत्याभूतिले नै पर्यटक आगमनमा वृद्धि गराउन सकिन्छ । गोताखोरलाई जसरी उद्दारमा जुटेका सशस्त्र प्रहरीलाई जस्तै पर्वतीय उद्दारमा खटिने प्रहरीलाई पनि सेवासुविधा सम्पन्न गर्न आवश्यक व्यवस्थापन गरिनुपर्छ । सरकारबाट व्यवस्थापन नहुँदासम्म कल्याणकारी कोषबाट भए पनि उद्दारमा खटिने सशस्त्र प्रहरीलाई एक हजार भत्ताको प्रबन्ध गरिने छ ।”

शिक्षालयबाट ४५ जना दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर घलेलगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट