Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘पेस्तोल डान्स’ प्रकरण: जसपाकी नेतृ डा. बबी सिंह प्रहरी सम्पर्कमा, सर्तसहित रिहा

‘पेस्तोल डान्स’ प्रकरण: जसपाकी नेतृ डा. बबी सिंह प्रहरी सम्पर्कमा, सर्तसहित रिहा

सप्तरी : सामाजिक सञ्जालमा ‘पेस्तोल फायर’ गर्दै डान्स गरेको भिडियो सार्वजनिक भएपछि विवादमा परेकी जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य डा. बबी सिंहलाई प्रहरीले सर्तसहित रिहा गरेको छ।

सप्तरीकी स्थायी बासिन्दा डा. सिंहले वैशाख ११ गते सर्लाहीको मलंगवा नगरपालिका–५ भाडसरस्थित वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी समारोहमा नाच्ने क्रममा पेस्तोल चलाएको स्वीकृति दिएकी छन्। प्रहरीका अनुसार उनले चलाएको पेस्तोल नक्कली भएको बताइएको छ।

प्रकरणले सामाजिक सञ्जालमा चर्चा पाएपछि सप्तरी प्रहरीले डा. सिंहलाई बिहीबार साँझ सम्पर्कमा बोलाएर लिखित बयान लिएर सर्तसहित छाडेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए।

उक्त नाचमा प्रयोग भएको भनिएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित अञ्जली कुमार तिलहरीको घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले पुष्टि गरेका छन्। बरामद पेस्तोलबारे अनुसन्धान सर्लाही प्रहरीले नै अगाडि बढाएको छ।

“घटना सर्लाहीमा भएको हो र दसी पनि त्यहींबाट भेटिएकाले थप अनुसन्धान सर्लाहीबाट हुनेछ,” एसपी खतिवडाले बताए।

भिडियो सार्वजनिक भएपछि प्रहरीको चासो बढेको थियो। बबी सिंहको ‘पेस्तोल डान्स’ भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएको थियो, जसमा उनी एक विवाह समारोहमा रंगीन धुनमा नाच्दै पेस्तोल फायर गरिरहेकी देखिन्छिन्।

यो घटनाले सामाजिक उत्तरदायित्व, सार्वजनिक सुरक्षाको सन्दर्भमा गम्भीर बहस सुरु गराएको छ। जसपा नेतृत्वले हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन। तर सामाजिक सञ्जालमा आम प्रयोगकर्ताहरूले एक जिम्मेवार नेताबाट यस्ता गतिविधि अमर्यादित भएको भन्दै आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट