काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्ति गर्न तयारी अवस्थामा रहन अपिल गरेका छन् । एक सय ३६ औँ मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिका लागि तयारीसाथ बस्न नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् ।अबको आन्दोलन शान्तिपूर्ण हुने तर राज्यले दमन गरे दुनियाका कुनै शक्तिले रोक्न नसक्ने प्रचण्डको जिकिर थियो ।
‘हामीले फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्छ । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ । यदि शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजिए दुनियाका कुनै तागतले रोक्न सक्दैन । नेपालमा पनि रोक्न सक्दैन’, उनले भने, ‘अहिले व्यवस्थालाई उल्ट्याउने षड्यन्त्र भइराखेको छ । यस्तो बेला हामी चुप लागेर बस्न सकिँदैन । अहिले ठुलो संघर्षमा स्थापित व्यवस्थालाई उल्लट्याउने जुन चेष्टा भइरहेको छ, त्यसलाई सबै मिलेर परास्त गर्नुपर्छ । फेरि एकचोटी ठुलो आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’
उनले जनताका तागतका साथ एकजुट भएर लागेमा आफूले भनेजस्तै संविधान संशोधन गर्न सकिने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुप नै अहिलेको आवश्यकता भएको प्रचण्डले जोड दिए ।कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर, श्रमिक र कृषकका हितमा जनयुद्ध भएको भन्दै उनले माओवादी जनयुद्ध र जनआन्दोलनको मिश्रणमा श्रमिकहरुको हकअधिकार संविधानमा राख्न सम्भव भएको बताए ।यद्यपि संविधानले भने अनुसार श्रमिक, मजदुरले हकअधिकार नपाएकोमा आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij