Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कांग्रेस नेताहरूले किन गरिरहेका छन् सरकारको आलोचना ?

कांग्रेस नेताहरूले किन गरिरहेका छन् सरकारको आलोचना ?

काठमाडौँ : नेपाली कांग्रेस सत्तामा भए पनि सत्तापक्ष हो कि प्रतिपक्षी छुट्याउन गाह्रो पर्छ । सत्तारुढ दल एमालेका सांसद गोकर्ण विष्टले संसदमा पनि बोलेका छन् यी कुरा । सदनभित्र होस वा बाहिर नेताहरूको अभिव्यक्ति पनि सत्तापक्ष हो कि प्रतिपक्षी दलका नेता बोल्दै छन् भेउ पाउन सकिँदैन ।

सरकारकै विषयमा नेताहरूका परस्परविरोधी विचार र आक्रोशले बताउँछ कांग्रेसभित्र विवाद छ । सरकार होस् या पार्टी सञ्चालनको विषय नेपाली कांग्रेसमा सदैव मतभेद देखिन्छ । गुटगत होस वा एजेण्डागत नेताहरूले फरकमत भएकै हुन्छ ।

अहिले संस्थापनइतर समूहले सरकारलाई सचेत गराएको भन्दै सरकारको आलोचना गर्दै आएको छ । तर, पछिल्ला दिनमा सरकारको कार्यशैलीमा सभापति शेरबहादुर देउवाको ‘किचन क्याबिनेट’का नेताहरूले समेत आलोचना गर्दै आएका छन् ।

१२ वैशाखको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले ९ महिनामा गजब काम गरेको भन्ने ठाउँ नभएको टिप्पणी गरे । उनले सरकारले आर्थिक विकासलाई अधोगतिमा लग्ने काम नगरेको बताए । ‘वर्तमान सरकारका कुनै पनि कमीकमजोरी छैनन् भन्ने होइन । सरकार बनेको नौ महिनामा उल्कै गजबै गर्‍यो भन्ने ठाउँ नभए पनि मुलुकलाई बदनाम गर्ने र आर्थिक विकासलाई अधोगतिमा लाने काम यो सरकारले गरेको देखिँदैन,’ उनले भने ।

घिमिरेले सरकारले गति बढाउन आवश्यक रहेको बताए । कांग्रेस र एमालेको शक्तिशाली सरकार हो भन्ने व्यवहारमा देखिनुपर्ने भनाइ उनको छ । ‘सरकारले आफ्नो गति बढाउनैपर्छ । सुशासनको मामलामा सरकारका आक्रामक ढंगले अघि बढ्नैपर्छ,’ उनले भने ।

सरकार बाहिर रहेकाले सरकारले गलत नगरुन् भनेर खबरदारी आवश्यक रहेको इतर समूहका नेता शेखर कोइराला बताउँछन् । ‘सरकारमा बस्ने हाम्रा साथीहरू मन्त्रीजीहरू हुनुहुन्छ उहाँहरूले सहकार्य गरेर जानुहोस् एमालेसित । तपाईं हामी बाहिर छौँ सरकारले गरेका गलत कमी कमजोरीहरूलाई औँला उठाएर भन्न सक्ने आँट गर्न सक्नुपर्छ । साहस म दिन्छु,’ कोइरालाले भन्ने गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा सरकारमा बस्नको लागि मात्र नभएर नतिजा चाहिने बताउँछन् । सरकारको सन्दर्भमा कांग्रेसको तर्फबाट भएको कमिटमेन्टमा आफूहरू पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ । सरकार ढाल्ने र बनाउने ‘पोलिटिकल एड्भेन्चर’ मा आफूहरू नलाग्ने उनको भनाइ छ ।

‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौँ । कांग्रेस पार्टीको तर्फबाट हाम्रो कमिटमेन्ट छ । हामी तलमाथि, कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौँ । हामी यसलाई अगाडि बढाउँछौँ । तर, यो समयको हामी प्रयोग गर्न चाहन्छौँ,’ थापा भन्छन्, ‘बस्नका लागि मात्रै सरकार भएर हुँदैन । सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ । हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौँ ।’

संस्थापन समूहका नेता घिमिरे मात्र होइन पार्टीका प्रवक्ता प्रकाशशरण महत पनि सरकारले चाहेअनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको बताउँछन् । महत सरकारको बचाउ गर्दै आएका नेतामा पर्छन् ।

‘ओलीको बा शैलीमा परिवर्तन आएको थियो । तर अहिले त्यस्तो देखिएको छैन । सभापति थाइल्यान्डबाट फर्किएपछि मत्थर भएको छ । तर कांग्रेसको नेचर नै हो विरोध गर्ने तैपनि चिसो र तातो भएर सम्बन जाने प्रतिबद्धता नेतृत्वले जनाएको छ । अहिले सभापतिले जे गर्नुहुन्छ त्यही नै हुन्छ । गठबन्धन बन्ने बेलामा पनि सभापतिबाहेक एकाधलाई थाहा भएको कुरा हो,’ कांग्रेसका संस्थापन समूहका एक नेताले भने ।

कांग्रेस एमालेको शक्ति संघर्ष सत्ता सहयात्रामा देखिएको छ । संवैधानिक नियुक्ति, राजदूत नियुक्ति, गभर्नर नियुक्तिलगाएतका विषयमा संघर्ष देखिन थालेको हो । राजदूत नियुक्तिको समयसम्मा कांग्रेसले प्रधानमन्त्री केपी शर्माओलीलाई अवरोध गरेको थिएन । तर, गभर्नरमा कांग्रेसले भाग खोज्दा ओली सहजै दिने मनस्थितिमा छैनन् । आगामी सरकार पाउने सहमति गरेका देउवाले पनि चुनाव गराउनुपर्ने भएकाले निर्वाचन आयोग र प्रहरी प्रशासन आफू अनुकूलका व्यक्ति चाहेका छन् । यसमा ओलीले सहजता बनाइदिने अवस्था पनि छैन ।

सहमहामन्त्री महेन्द्र यादव सभापति देउवाका किचेन क्याबिनेटका व्यक्तिहरूले सरकारको कार्यशैलीको आलोचना गरे पनि देउवा आफैँले सरकारको बारेमा केही नभनेकाले गठबन्धन फेरिने अवस्था नरहेको बताउँछन् । ‘सरकारलाई आलोचना गरेर ठीक ठाउँमा ल्याउने र जनताको असन्तुष्टि सम्बोधन गर्ने प्रक्रियामा छ । तर यो सरकार अगाडि बढ्छ,’ उनले भने, ‘सकरात्मक नतिजाको लागि आलोचना गरिएको हो । मन्त्रीहरूले राम्रो काम गरुन् भन्ने हो ।’ पार्टी पदाधिकारीमा पनि सरकारको बारेमा विकल्प नसोचिएको उनले बताए ।

कांग्रेस नेता रामहरि खतिवडा टालाटुली बटुलेर अर्को गठबन्धनको बारेमा नसोचिएको बताउँछन् । राजावादीसँग गठबन्धन गर्न नसकिने र सहज बहुमत भएको बेलामा काम गर्न जोड दिनुपर्ने उनको भनाइ छ । ‘यही गठबन्धनलाई दह्रो बनाउनुपर्छ । यी दल पनि फेल भए भने व्यवस्थामाथि नै प्रहार भइरहेको बेला झन समस्या आउँछ । स्पिड बढाउन पर्छ,’ उनले भने ।

बुधबार नागरिक उन्मुत्ति पार्टीका संरक्षक रेशम चौधरी सर्वोच्च अदालतका एक अधिकृतको पत्रको भरमा जेल पुगे । यस्तो घटनाले पनि बलिायो सरकारको कच्चा काम देखिने उनले बताए । यस्ता कुरा सुधार गर्नुपर्ने खतिवडाको भनाइ छ । ‘अरु जस्तै हिँड्ने र अरुले जस्तै गर्ने गरी काम गरेर भएन भनेको हो । तर गठबन्धनको विकल्प छैन,’ खतिवडाले भने, ‘सरकारले प्रभावकारी काम नगरेको फ्रस्टेसन कांग्रेसका नेताहरूमा देखिएको छ ।’

सरकारले जन अपेक्षा पूरा गर्न नसकेको बेलामा कांग्रेसमा देखिएको असन्तुष्टि स्वाभाविक रहेको विश्लेषक गेजा शर्मा बताउँछन् । ‘सरकारको अलोकप्रिय विवादित र अनुत्तरदायी कार्यशैलीको बारेमा टिप्पणी हुनु स्वभाविक हो । संस्थापन होस् वा इतर सरकारले डेलिभरी गर्न सकेन भने समर्थन गरिरहनुपर्छ भन्ने होइन,’ उनले भने, ‘असन्तुष्टिको आधारमा सरकारको भविष्यमा प्रश्न उठ्दैन । सरकार प्राविधिक रूपमा टिके पनि डेलिभरी दिन सकेन भने सरकारको औचित्य रहँदैन ।’

कांग्रेसमा सरकारको आलोचना भइरहेको विषयलाई भने सत्ता सहयात्री दलले पार्टीको शक्ति संघर्षको रूपमा बुझेको छ । ‘कांग्रेसको महाधिवेशन आउँदै छ । त्यहाँभित्रको शक्ति संघर्षको प्रभाव सरकारसँग जोडिने गरेको रुपमा हामीले बुझेका छौं,’ एमालेका उपसहासचिव प्रदीप ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट