काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मागपत्र बुझाएका हुन् ।
मुलुकको आर्थिक, सामाजिक क्षेत्रको सुधार लगायत विषय समेटेर प्रधानमन्त्री ओलीलाई मागपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।एकीकृत समाजवादीले चैत एक गतेदेखि ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मूल नाराका साथ जारी राखेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।
मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको एकीकृ समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए ।समग्रमा आगामी वार्षिक नीति तथा कार्यक्रममा आफूहरूले उठाउँदै आएको मुद्दा पनि सम्बोधन हुन सकोस् भनेर ध्यानाकर्षण पत्र बुझाइएको उने बताए ।
मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोशिश गर्ने विश्वास दिलाए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij