बुटवल : प्रधानमन्त्री केपी शर्मा ओली आज चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्त फाउण्डेशन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्न लुम्बिनी पुगे ।प्रधानमन्त्री नै सहभागी भएको उक्त कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले भने बहिष्कार गरेका छन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् ।
कार्यक्रमको उद्घाटन नै प्रधानमन्त्री ओलीले गरेका थिए । कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए ।वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो ।
कार्यक्रमका लागि चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताए । उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढ्दै गएको पनि बताए ।
महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियारहरु चुनौत बनेको बताए । उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको बताए ।मानव कल्याणका लागि बुद्वले आफ्नो निजि सुखसयल र दरबार छाडेको बताउँदै उनले बुद्धको जीवनबाट मानवजातिले धेरै कुरा सिक्नुपर्ने बताए ।
बुद्धका शान्तिमैत्री विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुशरण गरी विश्व शान्ति कायम गर्न सकिने बताए ।
उनले भने–‘विगतमा बुद्वका विचार, सिद्वान्तहरू सिध्याउन खोजेका थिए, बुद्धका शालिक तोडिएको पनि थियो । जति गरेपनि बुद्धका विचार तिनीहरुले मार्न सकेनन ।’
प्रधानमन्त्री ओलीले चौथौ एसियाली बौद्ध साँस्कृतिक महोत्सवमा अफ्रिका, यूरोप, पूर्व एसिया, अमेरिका सहित विभिन्न देशबाट आएका पाहुनाहरुलाई बुद्ध जन्मस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यस्थित बनाउन आफू सहयोग गर्न तयार रहेको बताए ।
महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेय, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, मुख्यमन्त्री चेतनारायण आचार्य,, पूर्वमन्त्री कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा लगायतको उपस्थिती रहेको थियो ।महोत्सवमा भिक्षु ,भिक्षुणी, लामा , उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij