Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बुटवलमा प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहारबाट घाइते युवतीको सिएमसीमा उपचार हुँदै

बुटवलमा प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहारबाट घाइते युवतीको सिएमसीमा उपचार हुँदै

चितवन :  बुटवलमा शनिबार बिहान गोली प्रहार हुँदा घाइते भएकी युवतीको बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ल्याएर उपचार शुरु गरिएको छ । बुटवल र भैरहवामा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रिफर गरेर उहाँलाई सिएमसी ल्याएर उपचार शुरु गरिएको हो ।

अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार शनिबार साँझ ९ः४९ बजे घाईतेलाई यहाँ ल्याईएको थियो । ल्याईए लगत्तै सघन उपचार कक्ष (आईसियू) मा राखेर उहाँको उपचार भईरहेको छ । प्रा.डा. लम्सालका अनुसार कार्डियोथोरासिस र जनरल सर्जनको निगरानीमा राखेर उपचार भईरहेको छ ।

बिरामी हेरिरहनु भएका कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा.डा. अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले कलेजो र फोक्सोमा चोट पु¥याएको छ । गोली अगाडिबाट बाहिर नआएको र शरीरभित्रै रहेको उहाँले बताउनुभयो ।

छालाको भित्री भागमा गोलीको मुख्य भाग रहेको छ भने अन्य विभिन्न ठाउँमा छर्रा रहेका छन् । डा. आचार्यले भन्नुभयो “चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्राहरु निकाल्ने शल्यक्रिया गर्ने वा नगर्ने निक्र्याेल हुने छ ।” बिरामीको अवस्था स्थिर रहेको उहाँले जानकारी दिनुभयो ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा खाजा घर सञ्चालन गर्दै आइरहेकी २९ वर्षिया टीका विष्ट क्षेत्रीलाई गोली प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले घाईतेको उपचार चितवन मेडिकल कलेजमा भईरहेको पुष्टि गर्नुभयो ।

क्षेत्रीले प्रेम प्रस्ताव अस्वीकार गर्दा सितारे आलम भन्ने युवकले गोली हानेको बताईएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार घटनामा भारतीय युवक रहेको प्रारम्भिक अनुमान गरिए पनि विस्तृत विवरण खुलेको छैन । डिएसपी रानाले पीडित युवतीको भनाइअनुसार प्रेम प्रस्ताव स्वीकार नगर्दा गोली हानेको अनुमान गरिएको पत्रकारहरुलाई बताउनुभयो ।

“आफूसँग बिहे नगरे जे पनि गर्न सक्छु भनेर भिडियो कल गर्दो रहेछ,” डीएसपी रानाले भन्नुभयो “भिडियो कलमा पनि डर र धम्की दिँदै आइरहेको रहेछ । त्यसको स्किनसर्ट पीडित युवतीबाट हामीले पाएका छौं । प्रेमकै कारण यो घटना भएको हाम्रो प्रारम्भिक अनुमान छ ।” घटनाबारे विस्तृत अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij