काठमाडौँ : नेपाली कांग्रेसका नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेन्टर लोकार्पण’ कार्यक्रममा नेताहरूले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरू एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
यस क्रममा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिए । भने, 'अहिले गाउँ रित्तो भएको छ, युवाहरू विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ ।'
कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले अरू शक्तिसँग भिड्नका लागि सबैभन्दा कांग्रेस पार्टी आफैँ साङ्गठानिक रुपमा बलियो हुनुपर्नेमा जोड दिइन् । 'कांग्रेसले आफूलाई कमजोर बनाउन हुँदैन, वादविवाद गरेर होइन, एकीकृत हुँदै पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने वेला आएको छ, कांग्रेसभित्रको एकता बलियो भएको खण्डमा मात्रै अरूसँग भिड्न सकिन्छ', महिला विभाग प्रमुख भुसालले भनिन् ।
कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पछिल्लो समयमा दलहरूप्रति आमजनताको निराशा बढ्दै गएको उल्लेख गर्दै दलहरू सच्चिने वेला आएको बताए । उनले भने, 'चैत १५ गते राजावादी भन्नेहरूले तीनकुनेमा अशान्ति मच्चाए, गणतन्त्रलाई संस्थागत गर्नका लागि पूर्वराजाको सुविधा कटौती गर्दै लैजानुपर्छ, उनको सम्पत्ति छानबिन गर्नुपर्छ ।'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij