Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

स्वागतका लागि कुरिरहेकी मेयर रेनुलाइ प्रधानमन्त्री ओलीले भने,"छोरी सन्चै छौ ?"

स्वागतका लागि कुरिरहेकी मेयर रेनुलाइ प्रधानमन्त्री ओलीले भने,"छोरी सन्चै छौ ?"

भरतपुर : भरतपुर महानगरपालिकामा निर्मित ६ लेन सडक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र मेयर रेनु दाहालबीच सौहार्दता झल्किएको छ । प्रधानमन्त्रीलाई स्वागत गर्न रेनु भरतपुर विमानस्थलमै पुगेकी थिइन् ।

२०७७ सालमा यो सडकको शिलान्यास त्यसबेला पनि प्रधानमन्त्री रहेका ओलीले नै गरेका थिए । मेयर पनि रेनु दाहाल नै थिइन् । तर, शिलान्यास कार्यक्रममा रेनु उपस्थित भइनन् ।

सडकको निर्माण पूरा भएर उद्घाटनसम्म आइपुग्दा यसको जस लिन एमाले र माओवादीबीच होड चलिरहेको छ । यस्तोमा रेनु उद्घाटन कार्यक्रममा सहभागी हुन्छिन् कि हुन्नन् भन्ने जिज्ञासा थियो । तर, उनी उद्घाटनमा मात्रै होइन, प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमै पुगेर सकारात्मक सन्देश दिन सफल भइन् ।

प्रधानमन्त्री जहाजबाट उर्लिँदै गर्दा फुलगुच्छा लिएर लाइनमा खडा भएकी थिइन् रेनु । ओलीले पनि उनीप्रति सौहार्दता दर्शाए । रेनुबाट फुलगुच्छा लिँदै गर्दा ओलीले ‘छोरी सञ्चै छौं ?’ भनेर सोधेका थिए । रेनुले पनि मुस्कुराउँदै मुन्टो हल्लाइन् ।

उद्घाटन कार्यक्रममा पनि सौहार्द वातावरण देखियो । ओलीले उपप्रधानमन्त्री प्रकाशमान सिंह र मेयर दाहाललाई कार्यक्रममा महत्व दिएका थिए । उनले शिलालेखको अनावरण गर्ने क्रममा रेनु र सिंहलाई कपडाको डोरी तान्न दिएका थिए । सडक उद्घाटनका क्रममा रिवन काट्न पनि उनले रेनु र सिंहलाई नै अघि सारे । उनले दुवैजनालाई तानेरै अगाडि ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट