Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

यस्तो छ सुमनाको राजीनामा प्रस्ताव, पार्टीभित्र विरोध

यस्तो छ सुमनाको राजीनामा प्रस्ताव, पार्टीभित्र विरोध

काठमाडौं : रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने, आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव लगेकी छन् । पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ । श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन् ।

श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन् । श्रेष्ठले भनेकी छन्– सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगट्दा राम्रो सन्देश जाँदैन । त्यसमा अर्को व्यक्ति आउनुपर्छ ।

पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनुपर्ने उल्लेख छ । उनले आफ्नो विषय व्यक्तिगत नभई सैद्दान्तिक कोणबाट हेरिनुपर्ने भन्दै दुई महत्वपूर्ण जिम्मेवारी एकै व्यक्तिले लिनु मानवीय हिसाबले समेत उचित नहुने उल्लेख गरेकी छन् ।

यद्यपि यसअघि शिक्षामन्त्री हुँदासमेत श्रेष्ठ सहमहामन्त्री पदमा भने बहाल नै थिइन् । पार्टी सभापति रवि लामिछाने त्यसबेला उपप्रधान तथा गृहमन्त्री थिए । श्रममन्त्री डिपी अर्याल पार्टीको उपसभापति छँदै थिए ।

यद्यपि श्रेष्ठले त्यस बेला समेत एक व्यक्ति एक पदको बहस चर्चामै रहेको भन्दै अब पार्टीमा यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् । नत्र रास्वपा अरु पार्टीजस्तै बन्न जाने उनको भनाई छ ।

‘उपसभामुख इन्दिरा राना वा संसदका प्रमुख सचेतक सन्तोष परियारहरूको हकमा भने यो लागु नगरे हुन्छ किनभने उहाँहरू आफ्नो सक्षमताका साथै विशेष वर्ग समुदायबाट आउनुभएको छ,’ श्रेष्ठको प्रस्तावमा छ, ‘बाँकीको हकमा चाहिँ यस्तो मान्यता लागु हुनुपर्छ । हामीले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेका छौं ।’

सुमना श्रेष्ठको यो प्रस्तावबारे रास्वपाभित्र कोण-प्रतिकोणबाट छलफल चलिरहेको छ । केहीले श्रेष्ठले आफूले भन्दै आएको विषय अघि बढाएको भनेका छन् ।

थुप्रै केन्द्रीय सदस्यहरुले चाहिँ पार्टीको नेतृत्वले चरम प्रतिकुलता बेहोरिरहेको, अनि नागरिकमा फेरि निराशा भरिन सक्ने बेलामा आशा बाँड्न छाडेर सुमनाले हचुवामा अराजनीतिक बाटो समातेको टिप्पणी गरेका छन् ।

‘सुमनाजीको नियत आफैंमा खराब नहोला, तर उहाँले सही निर्णय लिनुभएन, आशा गरौं उहाँले फिर्ता लिनुहुने छ,’ एक नेताले भने, ‘सांसद भनेको कुनै अराजनीतिक पद होइन, त्यो पार्टीकै समर्थकहरुको शक्ति र अनुमोदनबाट आएको पद हो । अहिले पार्टीको नीति र विचारमाथि नै चुनौती दिन खोजिएका बेला जमेर प्रतिवाद पो गर्न अघि सर्नुपर्ने । उहाँले भाग्ने विचार गर्नुभयो ।’

यसअघि रवि लामिछाने १७ चैतमा पार्टी सभापतिमा पुनःबहाली हुने निर्णय भएकै दिन श्रेष्ठले राजीनामा दिने प्रस्ताव लगेकी थिइन् । लामिछानेले पार्टीको मान्यता एक व्यक्ति एक पद नै भए पनि अहिले यसलाई केही समय थाती राख्दा समर्थकमा बलियो सन्देश जानसक्ने भएकाले पुनर्विचार गर्न सुझाव दिएका थिए । त्यसपछि उनी रोकिएकी थिइन् । अहिले लामिछाने कारागारमा रहेका बेला उनको राजीनामा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट