Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न

नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न

नवलपरासी : चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् ।नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् । यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन् ।

निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताए । आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सम्पन्न हुने उनले जानकारी दिए । उनका अनुसार गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन् ।

अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ । गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२ दशमलव ५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ ।

यसखण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । नारायणघाटबाट बुटवलसम्मको एक सय १४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ ।

ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख गरिएको भन्दा चार गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड–१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ ।

४२ महिना (२०७९ साउन)मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij