Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सौराहामा भोलिदेखि वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक

सौराहामा भोलिदेखि वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक

चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा भोलि वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह सुरु हुँदैछ। ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ भन्ने नारासहित संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन लागिएको हो।

रत्ननगरको बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी वन्यजन्तु सप्ताहअन्तर्गत एक हप्तासम्म गर्ने कार्यक्रमबारे जानकारी दिएको छ। पत्रकार सम्मेलनमा निकुञ्जसहित संरक्षण र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख १ गते उद्घाटन, २ गते टिकौली हाइवे वरपर सरसफाइ, ३ गते चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानी : घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया कार्यक्रम, ४ गते बुढीराप्ती खोला सरसफाइ कार्यक्रम र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली र सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया तथा संरक्षणमा योगदान दिएकाहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

पत्रकार सम्मेलनमा मृगकुञ्जका कोषाध्यक्ष सञ्जय महतो, सदस्यहरू पूर्णप्रसाद ढुङ्गाना, बिन्दा कार्की, सरस्वती लामा लगायतको उपस्थिति थियो। कार्यक्रम सचिव ओमप्रसाद रिजालले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij