काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही हुने बताएका छन् ।नेकपा एमालेले कास्कीमा शनिबार आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले पूर्वराजा ज्ञानेन्द्र नै तीनकुने घटनाको योजनाकार भएकाले कारबाही हुने बताएका हुन् ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार पूर्वराजा ज्ञानेन्द्रलाई पनि बनाउने छौं । तीनकुने घटनाको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु ।’अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो ।
उनले भने, ‘तीनकुनेको कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुन्छ ।’राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलको दाबी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij