काठमाडौं : चीनले फेरि अमेरिकाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क बढाएको छ।शुल्क बढाएसंगै अतिरिक्त शुल्क १२५ प्रतिशत हुने भएको हो ।यसअघि बुधबार चीनले अमेरिकी वस्तुहरूमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो ।नयाँ भन्सार शुल्क दरहरू शनिबारदेखि लागु हुने छन् ।
अमेरिका र चीनबीचको भन्सार शुल्क युद्ध झन् चर्कँदो छ ।अमेरिकाले लगाएको १४५ प्रतिशत भन्सार शुल्कको जवाफमा चीनले अब १२५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ । जुन भोलिदेखि लागु हुनेछ ।
चीनले यदि अमेरिकाले फेरि भन्सार शुल्क बढायो भने पनि उसले जवाफी कदम नचाल्ने स्पष्ट पारेको छ ।अमेरिकाद्वारा लगाइएका यस्ता असामान्य भन्सार शुल्कहरू अन्तर्राष्ट्रिय व्यापार नियमको गम्भीर उल्लङ्घन हुन् । यो पूर्ण रूपमा एकपक्षीय दबाब र धम्कीको नीति हो ।
यस्ता भन्सार शुल्कहरूले अमेरिकाद्वारा प्रयोग गरिने ध्वंश र दबाबलाई मात्र उजागर गर्छन् ।गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ३४ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, जुन अप्रिल ९ मा लागू हुने भनिएको थियो ।
तर, त्यो लागु हुनु केही घण्टा अगाडि नै ट्रम्पले ५० प्रतिशत थप भन्सार शुल्क बढाउने घोषणा गरे ।जवाफमा चीनले बुधबार अमेरिकी सामानमाथि भन्सार शुल्क ५० प्रतिशतले बढाएर ८४ प्रतिशत पुर्यायो ।
त्यसको भोलिपल्ट, बिहीबार, अमेरिकाले चीनमाथिको भन्सार शुल्क १४५ प्रतिशत पुर्याएको घोषणा गर्यो । साथसाथै अन्य देशहरूलाई ९० दिनको छुट दिँदै पारस्परिक कर घटाएर १० प्रतिशतको समान दर लागु गरेको छ ।
भन्सार शुल्कको बढ्दो विवादबीच राष्ट्रपति सी जिनपिङले पहिलोपटक प्रतिक्रिया दिएका छन्। उनले भने, ‘चीन कसैसँग डराउँदैन । विगत ७० वर्षको प्रगति हाम्रो परिश्रम र आत्मनिर्भरताको नतिजा हो ।’
सीले अगाडि थपेका छन्, ‘चीन कहिल्यै अरूको दानमा निर्भर रहेन, न त कहिल्यै कसैको जबरजस्तीमा झुक्यो । संसार जति परिवर्तन भए पनि, चीन विचलित हुने छैन ।’स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटघाटका क्रममाउनले व्यापार युद्धमा कसैको पनि जीत नहुने उल्लेख गर्दै भने, ‘दुनियाँविरुद्ध जानु भनेको आफैंविरुद्ध जानु हो ।’सान्चेज ट्रम्पको ट्यारिफ घोषणा भएपछि चीन भ्रमणमा जानेसहित पहिलो युरोपेली नेता हुन् । पछिल्ला दुई वर्षमा उनी तेस्रोपटक चीन गएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij