Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप

दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप

काठमाडौँ  : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा राज्यको तर्फबाट हिंसा भड्काइएको बताएका छन् । पूर्वराजाको समर्थनमा भएको तीनकुनेको प्रदर्शनका मुख्य अगुवा दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको उनले आरोप लगाएका हुन् ।

मंगलबार बल्खुमा आयोजित विरोध सभामा उनले भने, ‘तपाईँलाई किचौँला जस्तो गरेर आएका दुर्गा प्रसाईँलाई तपाईँले पक्राउ गर्न सक्नुहुन्थ्यो तर, उनलाई ढुक्कले निकालेर पठाउनुभयो ।’ प्रसाईँलाई ढुक्कले पठाएर प्रहरीले मञ्चमा भाषण गरेर बसेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरलाई अश्रुग्याँस बर्साएको लिङ्देनले बताए ।

लिङ्देनले आईजीपी दीपक थापालाई युवा संघको ‘सह अध्यक्ष’ बनेको आरोप लगाए । ‘अश्रुग्याँसको सेलका बोक्राहरूमा मिति गएको लेखिएको कुरा नक्कली हो ?’ प्रश्न गर्दै लिङ्देनले भने,‘प्रहरी प्रमुखले एमालेको भातृ संगठनको सदस्य भएर बोलेका छन्, प्रहरी कुनै दलको भातृ संगठन भएर बस्ने होइन ।’

नेपाल प्रहरीलाई प्रहरी नै भएर बस्न उनले आग्रह गरेका छन् । तीनकुने घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न उनले माग गरे । उनले भने, ‘फरक मत राखेकै कारण हाम्रा नेताहरूलाई हिरासतमा अपमानजनक रूपमा राखेकोलाई हामीले इखको रूपमा लिएका छौँ ।’

राप्रपाका उपाध्यक्ष मिश्रलाई हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाएको उल्लेख गर्दै लिङ्देनले सरकारको त्यो व्यवहारलाई इखको रूपमा लिएको बताए । उनले भने, ‘राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने हामी लाखौँ थुनिन तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट