काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आईजीपी दीपक थापा एमालेको भ्रातृ संगठन युवा संघका सहअध्यक्ष रहेको आरोप लगाएका छन्। बल्खुमा आज राप्रपाले गरेको आयोजित खबरदारी सभामा बोल्दै अध्यक्ष लिङ्देनले आइजीपी थापालाई युवा संघका सहअध्यक्षको आरोप लगाएका हुन्।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले आईजीपी थापामाथि गम्भीर आरोप लगाए । तीनकुने घटनालाई राज्यकै तर्फबाट हिंसा भड्काएको लिङ्देनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले भने,‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ। प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन।’
प्रहरी प्रहरी नै भएर बस्नुपर्ने भन्दै अध्यक्ष लिङ्देनले कुनै दलको भ्रातृ संगठन भएर प्रहरी संगठन नचल्ने पनि बताए । उनले अहिले फूली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैं सत्तामा नहुने कुरा याद राख्न पनि उनले आग्रह गरेका छन् ।
आइजिपी थापाले राज्य व्यवस्था समितिमा जबाफ दिनेक्रममा तीनकुने घटना म्याद सकिएको अश्रुग्यास प्रहार नगरिएको दाबी गरेका थिए । लिङ्देनले यसअघि सामाजिक सञ्जालमार्फत नै म्याद सकिएको अश्रुग्यासका सेलको तस्बिर राखेर विरोध जनाएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij