वासिङ्टन डीसी : अमेरिकाको सर्वोच्च अदालतले मुम्बई हमलाका आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन नहुने अपिल खारेज गरिदिएको छ । यससँगै रानालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रक्रिया एक कदम अघि बढेको छ ।
२००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । आक्रमणका आरोपी राना २००९ मा अमेरिकामा पक्राउ परेका थिए । साथी डेभिड कोलम्यान हेडलीसँग मिलेर मुम्बईमा आक्रमण गराएको र डेनमार्कमा पनि आक्रमणको योजना बनाएको आरोपमा अदालतले दोषी ठहर गर्दै उनलाई २०१३ मा १४ वर्षको जेल सजाय सुनाइएको थियो ।
६४ वर्षीय राना पाकिस्तानी मूलका क्यानडाली नागरिक हुन । चिकित्सा शास्त्रमा डिग्री गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोर टिममा सामेल भएका थिए । हाल राना अमेरिकाको लस एन्जलिसस्थित मेट्रोलिटन डिटेन्सन सेन्टरमा कैद छन् ।
२००८ को नोभेम्बर २६ मा मुम्बईका ताजमहल होटल प्यालेस, छत्रपति शिवाजी महाराज टर्मिनल, मेट्रो सिनेमा,सेन्ट जेभियर्स कलेज, अस्पताल, क्याफे लगायतका स्थानमा आक्रमण हुँदा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए । आक्रमणमा संलग्नमध्ये एक अजमल कसाबलाई सन् २०१२ मा फाँसीको सजाय दिइएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij