काठमाडौं : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भइसकेपछि डोनाल्ड ट्रम्पले ल्याएको कर नीतिले विश्वका ठूला स्टक मार्केट प्रभावित भएका छन् ।मेक्सिको, चीन तथा क्यानडालाई अतिरिक्त कर लगाउने घोषणा गरेर ‘व्यापार युद्ध’ सुरुवात गरेका ट्रम्पका कारण यतिबेला विश्वका ठूला स्टक मार्केट ओरालो लागेका छन् ।
हालै अमेरिकाबाट आयात हुने वस्तुमा चीनले पनि ३४ प्रतिशत अतिरिक्त कर घोषणा गरेपछि शुक्रबार अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । त्यसअघि ट्रम्पले चीनबाट आयात हुने वस्तुमा अतिरिक्त ३४ प्रतिशत कर लगाइदिएका थिए ।
अमेरिकी स्टक मार्केट लगातार झर्नुमा राष्ट्रपति ट्रम्पले थालेको व्यापार युद्ध प्रमुख कारणका रूपमा लिइएको छ । विभिन्न देशबाट अमेरिका आयात हुने वस्तुमा उनले करका दर थपे । त्यसको प्रतिकार गर्दै अरू देशले पनि अमेरिकाबाट आयात हुने वस्तुमा थप कर लगाइदिए ।अमेरिकी स्टक मार्केट नास्डाक शुक्रबार एकै दिन ५.८ प्रतिशत घट्यो । विगत एक महिनामा यो सूचक १५.९८ प्रतिशत घटिसकेको छ । करिब डेढ महिनामा यो २२ प्रतिशत घटिसकेको छ ।
‘माइक्रोसफ्ट, गुगल, मेटा, अमेजन, एप्पल, टेस्लाजस्ता ठूला टेक कम्पनी सूचीकृत रहेको नास्डाक इन्डेक्समा आएको गिरावटले ‘बियरिस’ पुष्टि गरिसकेको रोयटर्सले उल्लेख गरेको छ । १९ फेब्रुअरीमा २० हजार नाघेको नास्डाक शुक्रबार १५ हजार ५८७ मा झरेको छ ।
नास्डाकमात्र नभई सक्रिय ठूला कम्पनीलाई प्रतिनिधित्व गर्ने डाओ जोन्स विगत एक महिनामा ९.८९ प्रतिशत झरेको छ । ४ मार्चमा ४२ हजार ५६१ अंकमा रहेको यो इन्डेक्स हाल ३८ हजार ३१४ मा झरेको छ ।
त्यस्तै ठूलो पूँजीका ५ सय कम्पनीलाई प्रतिनिधित्व गर्ने एसएन्डपी ५०० सूचक पनि विगत एक महिनामा ११.५८ प्रतिशत घटेको छ । ६ मार्चमा ५ हजार ७३८ अंकमा रहेको यो सूचक हाल ५ हजार ७४ मा झरेको छ । अमेरिकी स्टक मार्केटको करिब ८० प्रतिशत पूँजीको घटबढलाई यो सूचकले जनाउँछ ।
अमेरिकाले थप गरेको करपछि अरू देशले पनि प्रतिरोध गरेका छन् । फ्रान्स, बेलायत र जापान अमेरिकी वस्तुमा थप कर लगाउने तयारीमा छन् ।ट्रम्पको कर नीतिकै कारण एसएन्डपी ५०० मा रहेका कम्पनीमा मात्रै ५० खर्ब अमेरिकी डलर बराबरको बजार पूँजीकरण गुमेको रोयटर्सले उल्लेख गरेको छ ।
अमेरिका मात्र नभई जापानको स्टक मार्केट इन्डेक्स निक्की २२५ पनि ओरालो लागेको छ । शुक्रबार मात्रै यो सूचक २.७५ प्रतिशत घट्यो । ठूला २२५ कम्पनीको प्रतिनिधित्व गर्ने यो सूचक ८.७७ प्रतिशत घटेको छ ।
क्यानन, जापान टोबाको, कोमात्सु, माज्दा मोटर, मित्सुबिसी मोटर्स, निकोन, निसान मोटर, सोनी, सुजुकी मोटर, टोयोटा मोटर, यामाहा, होन्डा मोटरजस्ता ठूला कम्पनीको पूँजी उतारचढावलाई निक्की २२५ ले जनाउँछ ।त्यस्तै चीनको सांघाई स्टक मार्केट पनि घट्दो क्रममा देखिएको छ । विगत एक महिनामा यो मार्केट १.१६ प्रतिशत तथा ६ महिनामा ४.२३ प्रतिशत घटेको छ ।
अमेरिकाले चीनलाई थपेको ३४ प्रतिशत अतिरिक्त करले चिनियाँ सामानमा कुल ५४ प्रतिशत कर पुग्ने छ । यसले अमेरिकामा निर्यात हुने चिनियाँ सामान घट्न गई कम्पनीको व्यापारा असर पार्ने अनुमान छ ।
भारतको स्टक मार्केट सात महिनादेखि नै ओरालोमा छ । सात महिनामा बीएसई सेन्सेक्स ११.३ प्रतिशत घटेको छ । गत सेप्टेम्बरमा ८५००० अंकसम्म पुगेको बीएसई सेन्सेक्स हाल ७५३६४ अंकमा छ ।लन्डनको एफटीएसई १०० सूचक शुक्रबार मात्रै ४.९ प्रतिशत घट्यो । विगत एक महिनामा यो सूचक ७.२३ प्रतिशत घटिसकेको छ ।
भारतको स्टक मार्केट सात महिनादेखि नै ओरालोमा छ । सात महिनामा बीएसई सेन्सेक्स ११.३ प्रतिशत घटेको छ । गत सेप्टेम्बरमा ८५ हजार अंकसम्म पुगेको बीएसई सेन्सेक्स हाल ७५ हजार ३६४ अंकमा छ । शुक्रबार मात्रै यो सूचक १.२२ प्रतिशत घट्यो । भारतलाई पनि अमेरिकी राष्ट्रपति ट्रम्पले थप २६ प्रतिशत कर लगाएका छन् ।
व्यापार युद्धले विश्वमा महँगी बढ्ने र आर्थिक मन्दी छाउने प्रक्षेपण भइरहेका छन् । शुक्रबार अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका अध्यक्ष जेरोम पावेलले भने, ‘अतिरिक्त शुल्क अपेक्षा गरिएभन्दा ठूला छन्, यसले तत्कालै थप मुद्रास्फीति निम्त्याउने जोखिम छ ।’पछिल्ला दिन स्टक मार्केट मात्रै नभई कच्चा तेल तथा सुनसहित कमोडिटी बजार समेत प्रभावित छ । एक सातामै कच्चा तेलको भाउ औसतमा ७.४ प्रतिशत घटेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij