Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजा फर्काउने कुरा पूर्वराजाको इच्छा होइन भनेपछि मन शान्त भएको छ : नेपाल

राजा फर्काउने कुरा पूर्वराजाको इच्छा होइन भनेपछि मन शान्त भएको छ : नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरेको दावी गरेका छन् ।आफूहरुको सहमतिपछि मात्रै माओवादी जनयुद्ध छोडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ समझदारीमा आएको उनको भनाई थियो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै माओवादीबाट प्रचण्ड मिसिएको बताए ।

उनले भने–‘यी जम्मै कुराहरु गर्ने हामी तीन जना नेता हौं । एउटा गिरिजाप्रसाद कोराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्ड जी । पछि मात्रै हो उहाँहरू आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो ।’उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे ।

उनले अगाडि थपे–‘मंसिरमा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको साउनमा हो । बसेर सहमति गरेको ११ वैशाख २०६३ मा हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ ।’कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको अध्यक्ष नेपालले बताए ।

उनले भने–‘हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ,’ उनले भने, ‘सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको बताए ।

उनले भने–‘अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन भनेपछि मन शान्त भएको छ । यदि त्यसो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु । राजनीति गर्नु छ भने पार्टी खोल्नूस् । जनताको बीचमा जानूस् । बहुमत ल्याउनूस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो हो । हामीले त केपी ओलीलाई समेत राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने, अनुहार नै मन नपराउने मान्छेलाई त राम्रो गरिदिनूस् भनिरहेका छौँ । हामीले कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ ।’अध्यक्ष नेपालले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताएका उनले राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै अरुलाई दोष दिएर मात्रै नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट