काठमाडौं : थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहृन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता गर्दैछन्।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली मंगलबार थाइल्याण्ड पुगेका थिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने बिहीबार मात्रै बैंकक पुगेका हुन्। नेपालले ओली र मोदीबीच साइडलाइन भेटका लागि कूटनीतिक प्रयास गरेको थियो।
नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्याण्ड भ्रमण कार्यतालिकामा आज अपराहृन ४ बजेदेखि २० मिनेटमा मोदीसँग भेटवार्ता हुने उल्लेख छ।बैंककमै रहेकी परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले बुधबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने तय भएको जानकारी दिएकी थिइन्।
त्यसअघि प्रधानमन्त्री ओलीले बिहीबार श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए। परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्ण ढकालले नेपाल र भारतका प्रधानमन्त्रीबीच शुक्रबार अपराहृन साइडलाइन भेटवार्ताको तयारी रहेको प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्री भएको तीन महिनाभित्रै प्रधानमन्त्री ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ता गरेका थिए। संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका दौरान साइडलाइन भेटवार्ता भएको हो। त्यसयता ओली र मोदी बिमस्टेकको मञ्चमा भेट्दै छन्। थाइल्याण्डमा द्विपक्षीय भेट भएको खण्डमा भारत वा नेपालबाहिरै मोदीसँग प्रधानमन्त्री ओलीको जारी कार्यकालको यो दोस्रो भेट हुनेछ।
बिमस्टेक बैठकमा सहभागी हुन गएका ओली साइडलाइन बैठकमा समेत व्यस्त रहेका छन्। यसअघि बुधबार ओलीले थाई राजा र प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij