Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

विश्वभर ३ हजार २८ जना अर्बपतिको सूची सार्वजनिक

विश्वभर ३ हजार २८ जना अर्बपतिको सूची सार्वजनिक

काठमाडौँ : फोर्ब्स पत्रिकाले विश्वभर ३ हजार २८ जना अर्ब पतिको सूची सार्वजनिक गरेको छ । फोब्र्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी एक्लैको नाम समावेश छ।

नेपालबाट सन् २०१३ यता फोर्ब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवम् राजनीतिकर्मी चौधरीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा यस पटक झन्डै २६ अर्ब रुपैयाँ अर्थात् १.८ अर्ब डलरबाट बढेर २ अर्ब डलर पुगेको छ । उहाँ विश्वभरका ३ हजार २८ अर्ब पतिमध्ये १ हजार ७ सय २९ औँ स्थानमा हुनुहुन्छ । सिजी फुड तथा हस्पिटालिटी क्षेत्रमा लगानी बढाएसँगै उहाँको कुल सम्पत्ति बढेको फोर्ब्सको विश्लेषण छ ।

पहिलो १० स्थानमा रहेका अर्ब पतिमध्ये ७ जना प्रविधि व्यवसाय क्षेत्रका छन् । यसमध्ये एआई क्षेत्रमा लगानी गर्नेहरूलाई यो वर्ष उल्लेख्य रूपमा फलिफाप भएको फोर्ब्सको विश्लेषणमा उल्लेख छ । विश्वभर रहेका ३ हजार २८ अर्ब पतिको कुल सम्पत्ति १६.१ ट्रिलियन डलर पुगेको छ । सन् २०२५ मा एआई क्षेत्रबाट ४६ जना अर्ब पति बनेको र एआईमा गरिएको लगानीमार्फत उनीहरूको कुल सम्पत्ति ६ सय अर्ब डलर थपिएको छ ।

यस पटक फोर्ब्सको सूचीमा पहिलो नम्बरमा उक्लिएका ईलन मस्कदेखि मेटाका प्रमुख मार्क जकरबर्ग, अल्फाबेट (गुगल) का ल्यारी पेज र सर्गे ब्रिन, एनभिडियाका जेनसन हुआङ, ओपेनएआईका साम अल्टम्यानदेखि चिनियाँ स्टार्टअप डिपसिकका लियाङ वेनफेङको सम्पत्ति वृद्धिमा एआईले मुख्य भूमिका खेलेको छ ।

गत वर्ष १९५ अर्ब डलर कुल सम्पत्तिसहित दोस्रो स्थानमा रहेका ईलनले यस पटक आफ्नो सम्पत्तिमा १४७ अर्ब डलर थप्दै कुल ३४२ अर्ब डलरसहित फोर्ब्सको सूचीमा पहिलो स्थान हासिल गरेका छन् । स्पेसएक्स वा टेस्लाजस्ता अटोमोटिभ क्षेत्रको प्रतिनिधित्व गरेका भए पनि मस्कलाई उनको एआई कम्पनी एक्सएआईले गत डिसेम्बरमा ६ अर्ब डलर लगानी सुनिश्चित गरिदिएको थियो । उनले एक्सएआईलाई नै हाल आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म एक्स ३३ अर्ब डलरमा सेयर लेनदेन कारोबार (अल–स्टक डिल) मार्फत बेचेका थिए ।

यसै गरी मार्क जकरबर्ग यस पटक फोर्ब्स सूचीमा दोस्रो धनाढ्य बनेका छन् । कुल २१६ अर्ब डलर सम्पत्ति जम्मा गरेका जकरबर्गलाई पनि मेटाको एआई विस्तारले सघाएको छ ।

अमेजनका मालिक जेफ बेजस भने गत वर्ष तेस्रो स्थानमा रहेकामा अहिले यथावत् छन् । तथापि उनको सम्पत्ति भने १० प्रतिशतले बढेर २१५ अर्ब डलर पुगेको छ । चौथो नम्बरमा रहेका ८० वर्षीय ल्यारी एलिसनको कुल सम्पत्ति १९२ अर्ब डलर छ । फोब्र्सको अर्ब पति सूचीमा पाँचौँ नम्बरमा रहेका बर्नार्ड अर्नल्ट तथा परिवारको सम्पत्ति भने यस पटक ५५ अर्ब डलर खस्किएको हो । गत वर्ष विश्वका सबैभन्दा धनी व्यक्तिका रूपमा उनको सम्पत्ति सर्वाधिक २३३ अर्ब डलर थियो । सन् २०२१, २०२३ र २०२४ मा उनी पहिलो स्थानमा थिए । अर्नल्ट सन् १९८७ मा स्थापित फ्रान्सेली लक्जरी ब्रान्ड ‘लुई भुतोँ मोई हेनेसी’ का प्रमुख कार्यकारी अधिकृत हुन् ।

पुँजी बजारका चर्चित लगानीकर्ता ९४ वर्षीय वारेन बफेट यस वर्ष ३१ अर्ब डलर सम्पत्ति थपेर कुल १६४ अर्ब डलरसहित छैटौँ स्थानमा छन् । गत वर्ष पनि उनी विश्वका छैटौँ धनी व्यक्ति थिए । उनलाई मानव इतिहासकै सबैभन्दा सफल लगानीकर्ताका रूपमा लिने गरिएको फोब्र्सले जनाएको छ । गुगलका संस्थापकद्वय ल्यारी पेज र सेर्गेई ब्रिन क्रमशः सातौँ र आठौँ स्थानमा छन् । उनीहरूको कुल सम्पत्ति क्रमशः १४४ अर्ब र १३८ अर्ब डलर छ ।

फेसन तथा रिटेल क्षेत्रको प्रतिनिधित्व गर्ने स्पेनका प्रख्यात कपडा बिक्रेता अमान्सियो ओर्तेगा फोब्र्सको सूचीमा नवौँ स्थानमा छन् । प्रविधि क्षेत्रबाटै माइक्रोसफ्टका पूर्वप्रमुख कार्यकारी अधिकृत स्टिभ बल्मर दसौँ धनी व्यक्तिका रूपमा रहेका छन् । ओर्तेगाको कुल सम्पत्ति यस वर्ष १२४ अर्ब डलर र बलमरको ११८ अर्ब डलर छ । सन् १९८७ देखि फोर्ब्सले यो सूची निकाल्दै आएको र सधैँझैँ यस वर्ष पनि अमेरिकामा सबैभन्दा धेरै ९०२ जना अर्ब पति रहेको उल्लेख गरेको छ । त्यसपछि हङकङसहित चीनमा ५१६ र तेस्रोमा भारतमा २०५ जना अर्ब पति छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट