Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओली र मोदीबिच शुक्रवार बैंककमा भेटघाट हुने

प्रधानमन्त्री ओली र मोदीबिच शुक्रवार बैंककमा भेटघाट हुने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्रीद्वय बिच शुक्रवार ४ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास सुरुदेखि नै भइरहेको थियो । तर भारतका तर्फबाट निश्चित भइरहेको थिएन । नेपालबाट लगातारको प्रयासले दुई प्रधानमन्त्री बिचमा अन्तिम समयमा भेटवार्ता हुने निश्चित भएको हो ।

नेपालका प्रधानमन्त्री ओली हिजै थाइल्यान्ड पुगिसकेका छन् भने भारतका प्रधानमन्त्री मोदी भोलि थाइल्यान्ड पुग्नेछन् । मोदी उतैबाट श्रीलङ्का जाने कार्यक्रम रहेको छ । श्रीलङ्का उड्नुअघि प्रधानमन्त्री अ‍ोलीसँग भेटघाटको समय राखिएको श्रोतले बताएको छ ।भारतका प्रधानमन्त्री मोदी अप्रिल ४ मा थाइल्यान्डबाट श्रीलङ्का प्रस्थान गर्ने कार्यक्रम छ । उनी श्रीलङ्काबाट अप्रिल ६ मा भारत फर्किने छन् । यता प्रधानमन्त्री ओली थाइल्यान्डबाट अप्रिल ५ अर्थात् चैत २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी बिचको सम्बन्धमा पछिल्लो समय चिसोपना देखिँदै आएको छ । नेपालको तर्फबाट मोदीले भ्रमणको निमन्त्रणा पाए पनि हालसम्म आएका छैनन् । उता भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन ।ओली प्रधानमन्त्रीमा नियुक्ति हुने बित्तिकै भारत भ्रमणमा जाने इच्छा देखाएका थिए तर भारतले नबोलाएपछि उनी चीन भ्रमणमा गएका थिए । चीन गएर बीरआरआई कार्यान्वयनमा हस्ताक्षर गरेपछि भारत र नेपालबिच झन् दुरी बढेको छ ।

प्रधानमन्त्री ओली चीनबाट फर्केपछि भारत भ्रमणमा जाने घोषणा गरेका थिए तर भारतले बोलाएन । प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले निकै प्रयास गरेकी थिइन् । उनी त्यसका लागि तीन पटक भारत भ्रमण गइन् । तर प्रधानमन्त्री ओलीले भारत भ्रमणको निम्तो पाएनन् ।गत असोजमा पनि प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीसँग अमेरिकामा भेटघाट गरेका थिए । त्यसपछि पनि पटक पटक भारत भ्रमणका लागि प्रयास भएको थियो । त्यो सम्भव नभए पनि अहिले दुई प्रधानमन्त्रीबिचको भेटघाट थाइल्यान्डमा सम्भव भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले विभिन्न देशका प्रमुखहरू सहभागी भएको कार्यक्रममा आफ्ना समकक्षीहरुसँँग साइडलाइन भेटघाट हुनु सामान्य कुरा भएको बताए । बिमस्टेक समिटमा विभिन्न देशका राष्ट्रप्रमुखसँग भेटघाट हुने र सोही क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग पनि प्रधानमन्त्री ओलीको भेटघाटको हुने उनले बताए ।

विभिन्न देशका राष्ट्रप्रमुखसँग साइडलाइन भेटघाटको तयारीका क्रममा भारतका प्रधानमन्त्री मोदीसँग पनि भेटघाटको तयारी गरिएको हो बाँकी समय तालिका त्यहीँबाट मिलाउने काम हुन्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट