काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि प्रतिशोध साँधेको दाबी गरेका छन् ।आज (मंगलबार) सभामुख देवराज घिमिरेलाई भेटेर फर्किन क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू जन्मिनुभन्दा अगाडि हजुरबुबाले जोडेको सम्पत्ति र विवाह अगाडि श्रीमतीको सम्पत्तिलाई कसुर मानेर प्रतिशोध साँधिएको बताएका हुन् । सभामुख घिमिरेसँग आफूले अदालतको ढोकामा टेकाइएको मुद्दाको आधारमा निलम्बन हुन हुँदैन भनेको उनले सुनाए ।
आफूमाथि विभिन्न जिल्लामा प्रतिशोधसहित मुद्दा चलाइएको बताउँदै उनले भने, ‘म जन्मनुभन्दा अगाडि मेर हजुरबुबाले आर्जन गरेको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाहभन्दा अगाडि मेरो श्रीमतीको सम्पत्तिलाई कसुर मानेर सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने दुषित मनशाय राखी दर्तामात्रै गरिएको, अदालतको ढोकामा टेकाइएको मुद्दाको आधारमा निलम्बन हुन हुँदैन भनेर मैले आफ्ना कुरा राखेको थिएँ । संसद्को विषय संसद्बाटै निराकरण गरौं भन्ने मेरो अभिप्राय हो । म कति ठाउँमा मुद्दा लड्दै हिँड्ने ? जिल्लैपिछे मुद्दा छ ।’
उनले लोकतन्त्रमा यो प्रकारको प्रतिशोध नसुहाउने बताए । प्रतिशोधपूर्ण चरित्रले लोकतन्त्रलाई कहीँ पनि पुर्याउन नसक्ने उनको दाबी छ । ‘यो किसिमको प्रतिशोध सुहाउँदैन । यो लोकतन्त्रको चरित्र होईन । यस्तो चरित्रले लोकतन्त्रले आफूलाई जोगाउने, यो लोकतन्त्र हो भनेर भन्ने यो अवस्था होईन । यो किसिमको व्यवहार सरकारले नगरोस्,’ उनले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij