पूर्वगृहमन्त्रीसमेत रहेका रवि मंगलबार सभामुख देवराज घिमिरेसँग छलफल गर्न सिंहदरबार पुगे । सभामुखसँगको भेटपछि उनले यसै प्रसङ्गलाई पुनः दोहोर्याए।लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाए । पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रूपमा प्रयोग गरिरहेको जिकिर गरे ।
उनले भने, ‘म एउटा कुरा भनेर जान्छु, बिहीबारको दिन म एक जना मान्छे यो देशका चार वटा अदालतमा उपस्थित हुनुपर्छ । सम्भव छ ? पर्साको विलम्बलाई तपाईँहरू र आम नागरिकहरूले जसरी हेरेका छन् त्यसरी नै सामान्य हिसाबले हेरेको छु । मैले सकेसम्म कानुनी प्रक्रियाहरू टुंगिउन्, मुद्दा कहाँ लगाउने हो लगाउन्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हो । अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ । तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झुन्ड्याइरहेको छ । मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन । सबै थाहा छ, जगजाहेर छ । सरकार छोपेका छौँ भन्छ, हामी नाङ्गो देखिरहेका छौँ । सरकार छोपेँ भन्ठान्छ, यही तीनकुनेले छोपेको जस्तो । नाङ्गो भइसक्यो देखिएको छैन ।’ कास्की प्रहरीको हिरासतमा रहेको बेला गत मंसिर २४ गते रवि लामिछानेलाई काठमाडौँ हुँदै सिमरा विमानस्थलमार्फत पर्सा लगिएको थियो । वीरगञ्जको सानोपाइला सहकारीबाट लामिछाने गोर्खा मिडियामा आबद्ध हुँदा ८ करोड ५६ लाख रुपैयाँ गैरकानुनी रूपमा ऋणस्वरुप सारिएको अभियोगमा मंसिर २५ मै जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले ५४ वटा प्रश्नसहित लामिछानेको बयान लिए । तर हालसम्म पनि उनीविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय पर्साले बुझाउन सकेको छैन । कास्कीसहित काठमाडौँ, रुपन्देही र चितवन गरी चार वटा जिल्लामा रविविरुद्ध दर्ता भएका मुद्दामा सुनुवाइ भई धरौटीमा रिहाइ भइसक्दा पनि पर्सामा अस्वाभाविक रूपमा मुद्दा दर्ता लम्बाइएको आरोप लागेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अनुसन्धानमै शंकास्पद ढिलाइ भएको आरोप सत्य नभएको बताए । लामिछानेविरुद्ध ठगी र संगठित अपराधमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयसमक्ष प्रतिवेदन पेस गरेको र कार्यालयले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरी पेस गर्न निर्देशन गरेपछि प्रतिवेदन बुझाउन ढिलाइ भएको उनको भनाइ छ । ‘सम्पत्ति शुद्धीकरणको मुद्दामा केही समय पनि लाग्छ । सबै डाटाहरू संकलन गर्नुपर्छ । एक जना मान्छेको मात्रै मुद्दा भएको भए सजिलो हुन्थ्यो, धेरै जनाविरुद्ध अभियोग छ’ उनले भने, ‘त्यस कारणले प्रमाणहरू संकलन गर्न केही समय लागेको हो । नत्र अन्य अनुसन्धान अघि बढिरहेको छ ।’© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij