वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाइभ कन्सर्टका टिकटको कालोबजारी रोक्न एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । सोमबार राष्ट्रपति ट्रम्पले चर्चित गायक अमेरिकी र्यापर किड रकको उपस्थितिमा यो आदेशमा हस्ताक्षर गरेका थिए ।
यस क्रममा ट्रम्पले आफ्नो आदेशले टिकटको कालोबजारी रोक्ने र लाइभ कन्सर्ट टिकटको मूल्य उचित हुने बताए । यो आदेशले बिचौलियाहरूले गर्ने टिकटको अत्यधिक मूल्यवृद्धिलाई रोक्नेछ ।
आदेशले महान्यायाधिवक्ता पाम बोन्डी र अर्थमन्त्री स्कट बेसान्टलाई तोकिएको मूल्यभन्दा बढी मूल्यमा टिकट बेच्नेहरू विरुद्ध कारबाही गर्न निर्देशन दिएको छ । यसले टिकट बजारमा संवेदनशीलता र व्यवस्था पुनर्स्थापित गर्ने ट्रम्प प्रशासनको तर्क छ ।
कार्यकारी आदेशले संघीय व्यापार आयोगलाई लाइभ कन्सर्ट टिकट खरिद प्रक्रियामा हरेक तहमा पारदर्शिता ल्याउन र प्रतिस्पर्धा विरोधी र अपारदर्शी व्यवहार विरुद्ध कारबाही गर्न पनि निर्देशन दिएको छ ।
अमेरिकामा लाइभ कन्सर्ट र मनोरञ्जन उद्योगको आकार लगभग १ खर्ब ३२ अर्ब डलर रहेको र यसले लगभग ९ लाख १३ हजार मानिसहरूलाई रोजगारी दिइरहेको ह्वाइट हाउसले बताएको छ । बिचौलियाहरूले गर्ने टिकटको कालोबजारीले कलाकार र मनोरञ्जन उद्योगमा काम गर्ने मानिसहरू मारमा परेका छन् । यस विषयमा छ महिनापछि प्रतिवेदन बुझाउन पनि ट्रम्प प्रशासनले आदेश दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij