काठमाडौँ : स्थानीय तह कर्मचारी युनियनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई सामाजिक सञ्जालमा जुहारी नखेल्न आग्रह गरेका छन् । सोमबार ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष नरबहादुर शाहले यस्तो आग्रह गरेका हुन् ।
उक्त ज्ञापन पत्रमा दुई महिनाभन्दा बढी समयदेखि महानगरपालिका प्रशासनिक नेतृत्वविहीन भएको र यसले कार्यालयको दैनिक सेवा प्रभावित भएको, कर्मचारी र कामदारको तलब भत्ता एवं विकास निर्माणदेखि कार्यालय सामाग्री खरिदको भुक्तानी रोकिएको अवस्थामा नागरिकहरुलाई सहजरुपमा सेवाप्रवाह गर्नसक्ने परिस्थिति निर्माण गर्न आग्रह गरेको हो ।
संघले मुलुककै राजधानी सहरको समग्र व्यवस्थापन प्रणाली नै ठप्प हुँदा पनि सम्बद्ध पक्षमा वाञ्छित संवेदनशीलता नदेखिनु खेदजनक भएको बताएको छ । शासकीय प्रबन्धका विषयलाई जीत हार र स्वार्थसिद्धिको माध्यमका रूपमा लिइएकोमा आपत्ति जनाउँदै विवेकसम्मत निर्णयको आधारमा समस्या समाधानमा लाग्न माग समेत गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कारबाहीको सम्बन्धमा पनि संघले कानुन बमोजिम अघि बढ्न बालेनलाई आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीले गर्ने कार्यसम्पादनमा हुने भ्रष्टाचारजन्य कार्यलाई तथ्य र प्रमाणका आधारमा कानुन बमोजिम दण्डित गर्न लेखी पठाउने लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरी सुशासनको प्रत्याभूति गर्न आग्रह गरिएको छ ।
विगत केही समयदेखि कार्यालयको कामका सिलसिलामा कर्मचारीलाई केही अनधिकृत मानिसले गैर कानुनी दबाब दिने, निम्न स्तरको भाषा प्रयोग गरी कर्मचारीको मानमर्दन गर्ने, त्रासको वातावरण सिर्जना गर्ने काम गरेको भन्दै हुकुमी शैलीको प्रशासनिक व्यवस्थापन लाद्न खोज्ने प्रवृत्ति लाई अविलम्ब बन्द माग समेत गरेको छ । विज्ञप्तिमा २०८१ चैत्र २५ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिलाई सुनिश्चित गरी कार्यालय सञ्चालनको प्रबन्ध नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij