काठमाडौं : नेपालमा राजतन्त्र पुनःस्थापना हुने कुनै सम्भावना नरहेको स्पष्ट पार्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पूर्वराजा ज्ञानेन्द्रलाई कडा चेतावनी दिएका छन्।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममार्फत पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता किरातीले पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक महत्वकांक्षाले नै राजतन्त्रको पतन भएको जिकिर गरे। उनले अझै पनि पूर्वराजा पुरानै सोचमा अडिइरहेको र मच्चिएमा गम्भीर परिणाम आउने चेतावनीसमेत दिए।
पूर्वराजा ज्ञानेन्द्रले हेक्का राख्नुपर्छ कि राजतन्त्रको इतिहासमा संसारभर जे–जस्ता घटना घटे, त्यसको गहिरो अध्ययन गर्नु आवश्यक छ। उहाँकै महत्वकांक्षाले श्रीपेच टाउकोबाट झरेर म्युजियम पुग्यो। अब अझ मच्चिए टाउको नै झर्न सक्छ, नेता किरातीको भनाइ थियो।राजसंस्थालाई फर्काउने प्रयासबारे प्रश्न उठ्दै जाँदा उनले प्रष्टसँग भने– ‘अब राजतन्त्र फर्कन्छ भन्ने भ्रममा कोही नपरोस्, त्यस्तो अवस्था फेरि आउँदैन। न त डराउनुपर्ने नै अवस्था छ।’
नेता किरातीले वर्तमान दलहरु र नेताहरुको व्यवहारप्रति पनि गम्भीर आलोचना गरे। उनले दलहरूमै सामन्तवादी सोच बाकिँ रहेको औंल्याउँदै जनतामा लोकतन्त्रप्रति वितृष्णा बढ्दै गएको उल्लेख गरे।‘हामीले कतै राजा–रानीले गर्ने शैली दोहोराइरहेका त छैनौं? लोकतन्त्र भन्ने तर व्यवहार सामन्ती, यही प्रवृत्तिले गणतन्त्र कमजोर बनाएको हो,’ किरातीको भनाइ थियो।
उनको विचारमा, गणतन्त्रलाई संस्थागत गर्न दलहरूले आफ्नै घर सुधार्न आवश्यक छ। ‘गणतन्त्रको जरा हामीले जनतामा पुर्याउन सकेनौं भने त्यसको दोष कसलाई दिने? यही अहिलेको गम्भीर प्रश्न हो,’ उनले भने।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij