काठमाडौँ : खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि र जलविद्युतमा असर गरेको बताएका छन् । आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) द्वारा यहाँ आयोजित ‘दिगो खानेपानी सरसफाइ तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावले खानेपानी, कृषि, जलविद्युतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी भएको बताए ।
उनले भने, ‘पानी जीवनको आधार हो । पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन । यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ ।’ नेपाल सरकार खानेपानी मन्त्रालय संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको समेत मन्त्री यादवले प्रतिबद्धता जनाए ।
सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले ग्लेशियर भनेको हिमालय क्षेत्रमा हजारौँ वर्षदेखि जमेको बरफ, हिउँ, र चट्टानको ठुलो सङ्ग्रह भएको जानकारी गराए । उनले भने, ‘नेपालमा हिमालय क्षेत्रमा तीन हजार आठ सयभन्दा बढी ग्लेशियरहरू रहेको बताइन्छ । जसमध्ये सगरमाथा क्षेत्रको खुम्बु ग्लेशियर, ङोजोङ्मा ग्लेशियर आदि प्रसिद्ध छन् ।’ यसैगरी उनले स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) को सुनिश्चितता भनेको नागरिकको मौलिक हक मात्र नभई सामाजिक न्याय, सार्वजनिक स्वास्थ्य, आर्थिक समृद्धि र वातावरणीय सन्तुलनको पनि मुख्य आधार भएको बताए ।
नेपाल सरकारले ‘एक घर, एक धारा’ र ‘जनताको पानी सरकारको लगानी’ जस्ता नीति अघि बढाएकाले खानेपानी पहुँच विस्तारमा यसले महत्त्वपूर्ण योगदान पुर्याइरहेको समेत मन्त्री यादवले बताए ।
विश्व पानी दिवस २०२५ को नारा ग्लेसियर संरक्षण गरौँ भन्ने तय गरिएको छ । उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उपमहानिर्देशक रामचन्द्र काफ्ले, सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन)का पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij