वीरगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।प्रेस सेन्टर पर्साले वीरगञ्जमा आज आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो, “म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न । म जनतासँगै रहन्छु । जनताका समस्या सदनमा उठाउँछु ।”
पूर्वप्रधानमन्त्री दाहालले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्काे भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गर्नुभयो । “हामीले सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएका थियौँ,” उहाँले भन्नुभयो ।अध्यक्ष दाहालले पत्रकार सम्मेलनअघि वीरगञ्जमा ‘माओवादीसँग समुदाय’ संवाद कार्यक्रममा तराई–मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत झापादेखि पर्सासम्म आइपुग्दा हुलाकी राजमार्गलाई अघि बढाउने कार्यमा अफ्नो पहल कदमी रहेको बताउनुभयो ।फरक प्रसङ्गमा अध्यक्ष दाहालले वीरगञ्जको मुख्य सडक छेउमा बसोबास गर्ने जनतालाई विस्थापित गर्न नहुने धारणा राख्नुभयो । “वीरगञ्जमा बाइपासलगायत ठूला संरचनाका सडक तयार भइसकेका छन् । तर जनतालाई विस्थापित गर्ने गरी सडक विस्तार अभियान अघि बढाउन हुँदैन,” उहाँले भन्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij