Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

स्ववियु निर्वाचनमा रास्वपाले किन भाग लिएन ?

स्ववियु निर्वाचनमा रास्वपाले किन भाग लिएन ?

काठमाडौँ : चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा प्रतिनिधिसभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुनै उम्मेदवार खडा गरेन । विश्वविद्यालयलाई राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति अनुसार नै उम्मेदवारी नदिएको कार्यबहाक महामन्त्री कवीन्द्र बुर्लाकोटीको भनाइ छ । रास्वपाले विद्यार्थी संगठन मात्र नभई जनवर्गीय संगठन विहीन पार्टी निर्माणको परिकल्पना गरेको बुर्लाकोटी स्पष्ट पारे ।

‘हामी विश्वविद्यालय राजनीतिमुक्त हुनुपर्छ भन्ने मान्यता राख्छौँ । पार्टीको नीति अनुसार नै फागुन ८ गते बसेको सचिवालय बैठकले स्ववियु निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका थियौँ । विश्वविद्यालय राजनीति गर्ने थलो होइन, विद्यार्थीले अध्ययन गर्ने अधिकार सुनिश्चित हुनुपर्छ’, रातोपाटीसँग उनले भने ।

रास्वपाको फागुन ८ गते बसेको सचिवालय बैठकले स्ववियु निर्वाचनमा विशुद्ध विद्यार्थीमात्र संलग्न हुनुपर्ने, शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने साथै पार्टीको कुनैपनि संलग्नता समेत नरहने निर्णय गरेको थियो । साथै उक्त विद्यार्थी युनियनको चुनावलाई स्वस्थ रूपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपिल गरेको थियो ।

यसैबीच निर्वाचनको नाममा विश्वविद्यालयमा झडप समेत भएको भन्दै पूर्वशिक्षामन्त्री तथा रास्वपाकी सह–महामन्त्री सुमना श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले रेस्लिङ खेल्ने भए संसदभित्रै व्यवस्था मिलाउन सभामुखसँग माग गरेकी थिइन् ।

‘स्ववियुको नाममा दलहरूको जुन ताण्डव भइराखेको छ विश्वविद्यालयहरूमा के गर्नुभएको ? आफ्नो गुट उपगुटलाई बचाउन, कोही सभापति बन्न विद्यार्थीहरूको दुरुपयोग भइराखेको छ । विश्वविद्यालयमा तालाबन्दी छ, एकमहिनासम्म विद्यार्थीले पढ्न पाएका छैन’, उनले भनिन्, ‘विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न शिक्षामन्त्रीले गृहमन्त्रीलाई गृहमन्त्रीले शिक्षामन्त्रीलाई देखाउने होइन । म यसमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउँछु । विद्यार्थीहरुको पढ्ने हक सुनिश्चित गरियोस् । हैन भने यहाँ(संसदभित्र) रेस्लिङ म्याच खेलाइयोस् । विद्यार्थीको टाउको फुटाउने होइन, आफ्नै टाउको फुटाउनोस् ।’

सरकारले शिक्षा क्षेत्रलाई कहिल्यै सिरियस्ली नलिएको भन्दै उनले सरकारको आलोचना गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट