काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग आफूले पटकपटक सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन नसकेको बताएका छन् ।द्धन्दकालीन मुद्दालाई छिटो टुंगोमा पुर्याउनका लागि आफू प्रचण्डसँग भेटका लागि निरन्तर सम्पर्कमा रहे पनि भेट हुन नसकेको बताए ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । साथै आफू सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत् द्धन्दकालीन मुद्दाहरुलाई किनारामा पुर्याउने काममा लागि परेको समेत बताए ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशाक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि म प्रयासरत छु । विपक्षी दलका नेतासँग सम्पर्क गर्न खोजिरहेको छु तर मैले पटकपटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको भन्ने जवाफ पाएको छु । उहाँसँग सम्पर्क हुने बित्तिकै काम अगाडि बढाइनेछ ।’
माओवादी सांसद विमला सुवेदीले प्रधानमन्त्री ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन हुन नसकेको भन्दै प्रश्न गरेकी थिइन् । ऐनमा व्यवस्था भएका आयोगहरु किन गठन नभएका हुन् ? भन्दै सांसद सुवेदीको प्रश्न थियो ।सो प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रचण्डसँग भेट हुन नसकेका कारण काम अघि बढ्न नसकेको जवाफ दिएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij