Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एमालेबाट निर्वाचित वडाध्यक्षले एक लाख भारुमा भारतीयलाई दिलाए नागरिकता

एमालेबाट निर्वाचित वडाध्यक्षले एक लाख भारुमा भारतीयलाई दिलाए नागरिकता

काठमाडौँ : सिरहामा एमालेबाट निर्वाचित एक वडाध्यक्षले भारतीयलाई नागरिकता दिएको खुलेको छ । सिरहा क्षेत्र नम्बर २ का सांसद एवं सोही स्थानीय तहका राजकिशोर यादवले मंगलबार प्रतिनिधिसभा बैठकमा यस्तो विषय उठाएपछि यसले थाहा भएको हो । सिरहाको नरहा गाउँपालिका–३ का वडाअध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारत बिहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नागरिकता प्राप्त थिए ।

उनले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता प्राप्त गरेका थिए । नागरिकताका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर वडाध्यक्ष अन्सारीले सनाखत गर्न लगाएका विभिन्न उजुरीमा उल्लेख छ

वडाध्यक्ष अन्सारीको सिफारिसमा मोस्ताक मियाँले नागरिकता लिएको भन्दै नरहा–३ के इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग आयोगसम्म उजुरी गरेका छन् । तर हालसम्म यसबारे कुनै प्रक्रिया बढाइएको छैन ।

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्षसमेत रहेका सांसद यादवले आजनको संसद्मा नागरिकता खरिद–बिक्री गर्ने काम सत्ता पक्षबाट भएको आरोप लगाए । वडाअध्यक्ष अन्सारी एमालेका हुन् । सांसद यादवले वडाअध्यक्ष सत्ताधारी दलका भएका कारण उनीमाथि कारबाही नभएको दाबी गरे । गलत सिफारिस गरेको भन्दै वडाअध्यक्ष अन्सारीलाई कारबाही गर्नुपर्ने उनले माग गरे ।

स्थानीय इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारीले मोस्ताक मियाँलाई बोलाएर सोधपुछ गरेर छाडेका थिए । तर हालसम्म अन्य कारबाही नभएको इनुसले बताएका छन् ।

‘मुस्ताक भारतीय हुनुहुन्छ भनी म पहिल्यैदेखि चिन्थेँ, सीडीओ कार्यालयबाट नागरिकता बनाएर निस्किँदा नै मलाई शंका लागेको थियो,’ इनुसले भने, ‘अनि मलाई उहाँले नै वडाअध्यक्षलाई एक लाख भारु दिएर नागरिकता सिफारिस गर्दिएको बताउनुभयो ।’

त्यसको भोलिपल्ट आफूले सीडीओ कार्यालयमा उजुरी दिएको र त्यहाँबाट कुनै सुनुवाइ नभएपछि अख्तियारमा उजुरी दिएको उनले बताए । इनुसले गृहमन्त्रालयमा पनि उजुरी दिएको तर हालसम्म कतैबाट कुनै सुनुवाइ नभएको गुनासो गरे । सिरहाका सीडीओ वासुदेव दाहालले वडाध्यक्ष अन्सारी, नागरिकता बनाउने, सनाखत बस्नेहरूसँग बयान लिएको र त्यसमा थप अनुसन्धान भइरहेको बताए ।

वडाध्यक्ष अन्सारीले पनि आफूले बयान दिइसकेको बताएका छन् । उनले भने, ‘मबाट भुलले फाइलमा हस्ताक्षर भएको हो, त्यो कुरा मैले स्वीकार गर्दै सीडीओ कार्यालयमा नागरिकता खारेजका लागि पत्र पनि पठाइसकेको छु, नागरिकता पनि जफत भइसकेको छ ।’

नागरिकताका थुप्रै फाइल टेबलमा रहँदा गल्ती भएको उनको भनाइ थियो । ‘पालिकाको कार्यक्रमको समय थियो, सिफारिसका लागि फाइल आएपछि केही नहेरी हस्ताक्षर गरिदिएँ,’ उनले भने, ‘विपक्षीहरूले आफूलाई यसमा जबर्जस्ती फसाउन खोजे ।’

अख्तियारसँग पनि आफूले यही बयान दिएको र उनले सुनाए । साथै उनले घुस मागेको आरोपमा प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि बताए । उक्त घटनालाई बारम्बार आफूबाट भुल भएको बताएका उनले अनावश्यक उचाल्ने काम भइरहेको दाबी गरे ।

तर, आमाबुबा बनेका अमानत मियाँ र रजिना खातुनले भने आफूले मोस्ताकलाई नचिनेको बताएका । अमानतले भने, ‘मोस्ताक को हुन् हामी चिन्दैनौँ, वडा कार्यालयमा आफ्नो कामका लागि गएको वेला अध्यक्षज्यूले यसमा हस्ताक्षर गर्दिनु भन्नुभयो, मैले केही खोजखबर नगरी हस्ताक्षर गरेँ । पछि थाह पाएँ, नागरिकता बनाएको रहेछ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट