काठमाडौं :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भू-उपग्रहले खिचेको तस्बिरमा युक्रेको पहुँच रोकेका छन्।राष्ट्रपति ट्रम्पको निर्देशनपछि अमेरिकी भू-उपग्रहले खिचेको तस्बिरहरू युक्रेनसँग साझा गर्ने काम तत्कालका लागि रोकिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।अमेरिकाको आफ्नै र अरू देशका निजी स्याटलाइट ले खिचेको तस्बिर पैसा तिरेर पनि किन्छन्। त्यसरी किनिएका र आफ्नै स्याटलाइट तस्बिहरू अमेरिकाले युक्रेनलाई प्रयोग गर्न दिन्छन्।
तर तत्कालका लागि ती सबै रोकिएको पेन्टागनलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।यसलाई युक्रेनलाई वार्तामा बस्नका लागि ट्रम्पले दिएको अर्को दबाबका रूपमा बुझिएको छ। स्याटलाइट तस्बिरहरूबाट युक्रेनले रूसी मुभमेन्टबारे जानकारी पाउन सक्थ्यो।
ह्वाइट हाउसमा चर्काचर्की भएर तत्काल शान्ति सम्झौताका लागि युक्रेन वार्ता टेबलमा नबस्ने देखिएपछि आफूले विषयहरूमा युक्रेनलाई राजी गर्नेगरी वार्तामा बस्नका लागि ट्रम्पले विभिन्न किसिमले युक्रेनमाथि दबाब दिइरहेका छन्।
ह्वाइट हाउसको त्यो चर्काचर्कीको ७२ घन्टामै सैन्य सहायता तत्कालका लागि रोक लगाइदिएका थिए भने गुप्तचर जानकारी आदानप्रदानमा पनि रोक लगाएका थिए।यसले रूसलाई युक्रेनमाथि आक्रमण गर्न सजिलो भएको छ। यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई पनि छिट्टै शान्ति वार्तामा आउन चेतावनी दिएका थिए।
साउदी अरबमा भएको वार्ताको सुरूवातका बाबजुद पनि रूसले युक्रेनमाथि आक्रमण गरिरहेको भन्दै ट्रम्पले रुसलाई शान्ति वार्तामा बिलम्ब नगर्न चेतावनी दिँदै प्रतिबन्ध अझै कडा बनाउने धम्की दिएका थिए।
उनले ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ‘डिल’ गर्न युक्रेनभन्दा रूस सजिलो रहेको पनि बताए।‘रूससँग सौहार्दपूर्ण ढंगले वार्ता अघि बढेको छ। डिल गर्न युक्रेनको तुलनामा रूस निकै सजिलो छ,’ ट्रम्पले ह्वाइट हाउसमा भनेका थिए।
युक्रेनलाई सैन्य सहायता, इन्टेलिजेन्स आदानप्रदान र स्याटेलाइट तस्बिरको पहुँच रोकेपछि रूसले आक्रमण तीव्र पारेको छ।शुक्रबार युक्रेनको डोब्रोपिलिया सहर र खार्किब प्रान्तको वस्तीमा रूसले मिसाइल,ड्रोन र रकेटले आक्रमण गर्दा १४ जनाको मृत्यु भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij