बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आचार्यले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पारेका हुन् ।
प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीको वृत्ति विकासको ढोका खोलेको उल्लेख गर्दै उनले सरकार कुनै पनि पेसाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने बताए । उनले सामाजिक न्याय र पेसागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।
नेतृत्वमा पुगेका व्यक्तिहरूले आफ्नो मूलभूत जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै सङ्गठनका नेता तथा कार्यकर्ताहरू पारदर्शिता र उत्कृष्टताको उदाहरण बन्नुपर्ने उनको भनाई थियो । उनले स्थानीय सेवा ऐन कार्यान्वयनका लागि नियमावली तयार पार्ने कार्य भइरहेको जानकारी गराउँदै ऐनमा नमिलेका विषयहरू नियमावलीमार्फत समेटिने बताए।
उद्घाटन कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लुम्बिनीका अध्यक्ष चिन्तामणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij