विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सभामा सो विधेयकमाथि विचार गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएपछि सैद्धान्तिक छलफल सुरु भएको थियो ।
सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका प्रमुख सचेतक विदुर लिङ्थेपले आम नागरिकमा प्रवाह हुने सेवालाई अझ सहज एवं चुस्त पार्न यो विधेयक संशोधन गर्नु आवश्यक रहेको चर्चा गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रदेश विपद् व्यवस्थापन ऐन, प्रदेश निजामती कर्मचारी ऐन र सहकारी ऐनमा भएको व्यवस्थाले केही समस्या उत्पत्र भएकाले संशोधन गर्नु परेको बताउनुभयो । उहाँले ऐनमा भएका कमी कमजोरीले नागरिकको सेवामा पनि प्रभाव पारेकाले संशोधन गर्नु परेको धारणा राख्नुभयो । आजको बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, किशोरचन्द्र दुलाल, मीना श्रेष्ठ र रमेशकुमार बस्नेतले मुलुकको समसायिक विषयमा धारणा राख्नुभएको थियो ।
आज बिहान ११ बजे सञ्चालन हुने भनिएको सभा केही ढिला सुरु भई १२ः३० मा १५ मिनेटका लागि स्थगन भएको बैठक पुनः १ बजे सञ्चालन भएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि मध्याह्न १२ः३० बजे बस्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij