Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ग्याल्पो ल्होसार पर्वले सांस्कृतिक सद्भाव मजबुत बनाउन भूमिका खेल्नेछ :अध्यक्ष दाहाल

ग्याल्पो ल्होसार पर्वले सांस्कृतिक सद्भाव मजबुत बनाउन भूमिका खेल्नेछ :अध्यक्ष दाहाल

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्याल्पो ल्होसार पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै नेपालको हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभएको छ ।

शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व हो । यस पर्वमा मौलिक परिकार खाने, परम्परागत संस्कृतिमा आधारित पूजाआजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने र आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहिआएको छ ।

नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको अध्यक्ष दाहालले उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यस प्रकारका पर्वले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन् ।”उहाँले यो पर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट