Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पार्टी दायाँबाट बायाँ सिफ्ट गरेको छ, अब उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

पार्टी दायाँबाट बायाँ सिफ्ट गरेको छ, अब उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन्।अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको बताए।यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिए। पार्टीकै अर्को निर्णयअनुसार जनतासँग माओवादी तराई-मधेस जागरण थालिएको उनले बताए।

अभियानका क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको दाबी गरे।

हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरूले जनयुद्धमार्फत उनीहरूका मुद्दा उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको तर कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्ग केन्द्रित अभियान थालिएको उनको भनाइ छ।

आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिने बताए। यो अभियानस्वरूप र सन्देश दुवै हिसाबले मौलिक हुने उल्लेख गर्दै उनले यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने दाबी गरे।

भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको चुनावले पार्टीभित्र लोकतान्त्रिक अभ्यास स्थापित गरेको उल्लेख गर्दै उनले यसले अरू विद्यार्थी संगठनभन्दा अखिल क्रान्तिकारीलाई नयाँ उचाइँमा पुर्‍याइने बताए।

देशभर पार्टीका पक्षमा माहोल बनिरहेको र पछिल्लो स्थानीय तह उपनिर्वाचले माओवादीलाई १ नम्बर प्रदेशमा पहिलो पार्टी बनाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी स्ववियु निर्वाचनमा पनि अखिल क्रान्तिकारीलाई पहिलो संगठन बनाउन अपिल गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट